भीमफेदी मकवानपुरका जेलर भ्रस्टाचारमा जेल जाने भए
कपन अनलाइन
काठमाडौं ,मंग्सिर १।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भीमफेदी मकवानपुरका जेलर चिरञ्जीवी थापाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सार्वजनिक पदमा रहेर उनले भ्रष्टाचार गरी अकुत आर्जन गरेको देखिएको दाबीसहित अख्तियारले थापामाथि १ करोड १३ लाख ६० हजार ४१० रुपैयाँ बिगो कायम गरी आइतबार अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार सार्वजनिक सेवाको पदमा रही गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि छानबिन गर्दा उनले भ्रष्टाचार गरेको पाइएको अख्तियारको दाबी छ।
थापाले २०४५ जेठ ४ गतेबाट सरकारी सेवा सुरू गरेका थिए। सो मितिदेखि २०७५/७६ सम्म आर्जन गरेको वैध रकमको तुलनामा उनले सो अवधिमा सम्पत्ति सिर्जना तथा खर्च लगानीको व्ययको स्रोत खुल्न नआएको अख्तियारको दाबी छ।
थापाले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।