अपराधजन्य गतिविधि नियन्त्रण गर्न नागरिक आफैँ जागरुक हुनुपर्छ:प्रहरी निरिक्षक दिनेश गुरुङ

अपराधजन्य गतिविधि नियन्त्रण गर्न नागरिक आफैँ जागरुक हुनुपर्छ:प्रहरी निरिक्षक दिनेश गुरुङ

कपनअनलाइन

काठमाडौं,कार्तिक २८। समाजमा हुने अपराधजन्य गतिविधि नियन्त्रण गर्न नागरिक आफैँ जागरुक हुनुपर्ने महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी निरिक्षक दिनेश गुरुङले बताएका छन् ।

वुधबार महानगरीय प्रहरी वृत्त कमलपोखरीको आयोजना तथा सामुदायिक सेवा केन्द्र कालोपुल र सेन्टजर्ज स्कूलको सहकार्यमा भएको कार्यक्रममा सो कुरा बताएका हुन् । उनले समाजमा घटेका घटनाहरु नागरिककै सहयतामा मात्र छिटो पत्ता लगाउन सकिने बताउँदै वक्तृत्वकला प्रतियोगीतामा उठेका सवाललाई सम्बोधन गर्दै प्रहरीको काम कर्तव्य र अधिकारका बारेमा प्रष्ट पारे । हरेक घटनाहरु समाजबाटै उत्पन्न हुने बताउँदै विद्यालयदेखि नै विद्यार्थीहरुलाई शान्ति सुरक्षा र सामाजिक अपराधबारे सचेतनामूलक शिक्षा प्रदान गर्नुपर्ने प्रहरी निरिक्षक गुरुङले बताए ।

सो कार्यक्रममा धन्यन्तरी समाजका अध्यक्ष कल्याणध्वज खड्काले सामाजिक अपराध न्यूनिकरणमा शैक्षिक संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रत्येक संस्थाहरुले समाजसंग जोडिएका विषयवस्तुलाई व्यवहारिक रुपमा समेटदै विद्यार्थीहरुको पठनपाठनमा जोड दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा सोहि स्कूलका अध्यक्ष प्रलाद दाहालले विद्यार्थीहरुलाई बोल्ने क्षमताको विकाससंगै समाजप्रतिको धारणा र चासो बढाउन वक्तृत्वकला प्रतियोगीताको आयोजना गरेको बताए ।

प्रहरी दिवस २०७६ को अवसरको पूर्वसन्ध्यमा ‘अपराध नियन्त्रण र शान्ति सुरक्षा प्रबर्द्धनमा समुदाय र प्रहरीको सहकार्य’ विषयक वक्तृत्वकला प्रतियोगीता आयोजना गरी विद्यार्थीहरुलाई अपराध न्यूनिकरणमा परिवार र आफु स्वंयम् सतर्कता अपनाउन जोड दिएका थिए । प्रतियोगीहरु समाजमा घटेका वर्तमान अपराधहरुको विषयमा आफ्नो धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।