कर्मचारी नहुँदा नगरपालिकाको काम प्रभावित
कपन अनलाइन
काठमाडौँ, २३ माघ। बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ। नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।
‘एक जना मात्र प्रशासन सञ्चालन गर्ने कर्मचारी प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँ पनि बिदामा बस्दा अहिले प्रशासन सञ्चालन गर्ने कर्मचारी छैनन्’, उनले भने, ‘प्रशासन शाखामा अधिकृतस्तरको कर्मचारी नहुँदा आफैँ काम गर्नुपरेको छ ।’
अहिले एक नासु मात्र प्रशासन शाखामा छन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारी यही माघ १८ देखि २८ गतेसम्म बिदामा बसेका छन् ।
यसैगरी अहिले नगरपालिकामा स्वास्थ्य, महिला तथा बालबालिका, शिक्षा, कृषि, पशु, प्राविधिक र सामाजिक विकास शाखा स्थापना गरिए पनि पर्याप्त कर्मचारी नहुँदा काम प्रभावित भएको छ ।
कर्मचारीको अभावले आन्तरिक लेखा परीक्षण शाखा अझै नबनेको उनको भनाइ छ । अहिले नगरपालिकामा केन्द्रबाट थप कर्मचारी नआएको र पहिल्यैका करार कर्मचारीद्वारा काम चलाइएको उनले बताए ।