भैरहवा-तौलिहवा सडक स्तरोन्नतिको काम सुरु
कपन अनलाइन
दीपक घिमिरे
लुम्बिनी,१७ पुस। अबको दुई वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन, न त जाममा नै फस्नु पर्नेछ। बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो । भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ ।
भैरहवा–तौलिहवा सडकको स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अगाडि बढाइएको छ। सासेक सडक सुधार आयोजना भैरहवा–लुम्बिनी तौलिहवा सडक योजनाका प्रमुख राजेश प्रसाद पौडेलले सडकको प्रारम्भिक चरणको काम सुरु भएको बताए । उनका अनुसार पहिलो चरणअन्र्तगत उक्त सडकका दायाँबायाँ पुर्ने कार्य सुरु भइसकेको छ र सडकको दायाँबायाँ पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामका लागि प्रक्रिया अघि बढाइएको छ ।
भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चोकसम्मको बाटोलाई स्तरोन्नति गरी छ लेनको बनाइँदै छ भने विमानस्थल चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकसम्म चार लेनको बनाउन लागिएको छ । भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले दुई लेनको रहेको छ । त्यसैगरी लुम्बिनीदेखि कपिलवस्तु तौलिहवासम्मको सडक दुई लेनको बनाइँदै छ । उक्त सडक अहिले एक लेनको रहेको छ ।
हालको कालोपत्रलाई केन्द्रविन्दु मानी सडकको केन्द्र भागदेखि ठाउँ अनुसार दयाँबायाँ चौडा बनाइने छ । सडकको काम आगामी साढे दुई वर्ष अर्थात २०१९ डिसेम्बरसम्ममा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । सडक निर्माणका क्रममा सडक दायाँबायाँ रहेका घर पर्खाल भत्काउनु पर्ने भएको छ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार सडक क्षेत्रमा पर्ने घर पर्खाललगायतका संरचना भत्काउँदा मुआब्जाको सट्टा उनीहरुलाई क्षतिपूर्तिको व्यवस्था मिलाइने पौडलले जानकारी दिए ।
कूल ४१ दशमलव १३० किलोमिटर लामो रहेको यो सडकको भैरहवा बुद्ध चोकदेखि विमानस्थलसम्म ३ दशमलव ६८ किलोमिटर छ लेन, विमानस्थलदेखि लुम्बिनीको पर्सा चौराहासम्म १४ दशमलव ४२० किलोमिटर चार लेन र बाँकी पर्साचोक देखि तौलिहवा सम्मको २३ दशमलव ३० किलोमिटर दुई लेनको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । छ लेन सडकको बीच भागमा ‘ग्रिन वेल्ट’, दूई–दूई लेनको सडक र दायाँबायाँ एक–एक सर्भिस लेनसहितको ‘फुटपाथ’ समेत निर्माण गरिने जनाइएको छ ।
सडक खण्डमा ३६ बटा यात्रु प्रतीक्षालय बनाउनुका साथै काटिएका दुई हजार एकसय रुखको बदला पाँचहजार एकसय रुख रोप्ने योजना छ । सडकको कोरिया इन्जिनीयरिङ कन्सलटेन्टले प्राविधिक कामहरुको समन्वय, निगरानी र परीक्षण गर्ने छ । हाल योजनामा ५०–६० जना प्रविधिज्ञहरु लागेका छन् ।
आवश्यकता अनुसार थप प्रविधिज्ञ परिचालन गर्ने आयोजनाका आवासीय इन्जिनियर राजेन्द्रसिंह मोनीले बताए । एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भैरहवा तौलिहवा सडक योजनाअन्तर्गत निर्माण हुनलागेको यो सडकको लागत भ्याटसहित करिब १ अर्ब ९३ करोड रहेको छ । स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नुका साथै यस क्षेत्रको व्यापारिक क्रियाकलापमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।