एक सय दुई वर्षीय वृद्ध : सफाइ अभियानमा प्रेरणा जगाउँदै

एक सय दुई वर्षीय वृद्ध : सफाइ अभियानमा प्रेरणा जगाउँदै

कपन अनलाइन

काठमाडौँ, ८ पुस । उपत्यकामा शुरु भएको चक्रपथ सफाइ अभियानमा १०२ वर्षीय वृद्ध सोमनाथ ढुंगाना पनि सहभागी भएक छन् । सफाइमा ढुंगानासहित ८४ वर्ष पार गरेका खिलराज पाण्डे, हिराराज रेग्मी, चन्द्रबहादुर कुँवर, बालकुमारी ढुंगेललगायत वृद्धवृद्धाले सफाइ गरेको चक्रपथ सफाइका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए । चक्रपथ सफाइको ३७ औँ हप्तामा आज चक्रपथको भाटभटेनी अघिबाट चप्पल कारखानासम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

चौरासी वर्ष नाघेका वृद्धवृद्धासमेत पुसको बिहानी जाडोमा सफाइमा उत्रेपछि धेरैलाई चक्रपथ सफा गर्ने प्रेरणा जगाएको थियो । चक्रपथको यो क्षेत्रमा धेरै फोहर भेटिएको छ । बाटोमा फ्यालिएका मोटरभित्र शौचालय, फोहर फाल्ने र राति मादकपदार्थ सेवन गरेर यौन क्रीडा गर्ने स्थलका रुपमा प्रयोग गरेको पाइएको अभियन्ता टण्डनले बताए ।

यो क्षेत्रमा ठूला तीन र साना तीनवटा सवारीसाधन चक्रपथ किनारमा राखिएको छ । सवारीभित्र फोहर र परिवार नियोजनका अस्थायी साधनसमेत प्रयोग गरेर फालिएको अवस्थामा पाइएकाले यी सवारीसाधन चक्रपथको सडक किनारबाट हटाइनुपर्ने अभियन्ताको माग छ । फोहर नियन्त्रणका लागि कडा कानून र जरिवाना नगरेसम्म चेतना नआउने अनुभव सफाइ अभियन्ता टण्डनको छ ।

उपत्यकामा आज नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बाग्मती सफाइ महाअभियानको २४१ औँ हप्तामा आज तीनकुने पुल मीनभवनमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । हाम्रो आलोकनगर सफाइ समूहको ३७औँ हप्ताको सफाइ कार्यक्रम पनि बाग्मती सफाइसँगै भयो ।

सफाइमा ऊर्जा थप्नका लागि वाग्मती सफाइकी सद्भावना दूत एवम् नायिका मनीषा कोइराला, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, खेम क्लिनिङ्स नेपालका अध्यक्ष खेम शर्माको सक्रियता थियो । सफाइमा काठमाडौँ महानगरपालिका, मुक्तिनाथ विकास बैंक, हाम्रो पाइला, आलोकनगर महिला सफाइ समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको अधिकार सम्पन्न बाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।

गुह्येश्वरीमाथिको बाग्मती सफाइको २०२औँ हप्तामा आज हनुमानघाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १९८औँ हप्तामा आज रातोपुल–कालोपुल–सिफल–गौशालासम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान र प्रसिद्धि कला समूह लगायतको संस्थागत सहभागिता थियो । सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

विष्णुमती सफाइको १६९औँ हप्तामा टोखा नगरपालिका–११ को नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी अनिल धरेलले जानकारी दिए । सफाइमा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र वडाध्यक्ष उत्तम अधिकारीको समेत सहभागिता थियो ।

आजको सफाइका क्रममा नदीमा फोहर फाल्दै गरेका ब्रिटिश गोर्खा कलेजमा अध्ययनरत अभिषेक भण्डारीलाई रंगेहात पक्राउ गरियो । नदीमा फोहर फाल्नेलाई कारबाहीका लागि टोखा नगरपालिकाका प्रमुख अधिकारीले जिम्मेवारी लिनुभएको सफाइ अभियानले जनाएको छ।

यसैगरी चक्रपथ वाफल खण्ड सफाइको १९औँ हप्तामा आज स्युचाटारदेखि सोल्टी दोबाटोसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव सहभागी भए ।

कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री यादवले सरसफाइ अभियानलाई राष्ट्रियस्वरुप दिने मन्त्रालयले कार्यक्रम ल्याउने तयारी गरेको जानकारी गराए । यहाँको सफाइमा सडक किनारमा उभिएर घरधनीको नामले बोलाउन थालेपछि अभियानकर्मीको सङ्ख्या बढ्न थालेको सफाइ संयोजक ताराबहादुर कुँवरले बताए ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि बाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । फलस्वरुप अहिलेसम्म ४५ स्थानमा सफाइ भइरहेको बाग्मती सफाइ महाअभियानले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।