सवारीसाधनको ठक्करबाट एकको मृत्यु

कपन अनलाइन 

राजविराज, ६ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सवारीसाधनको ठक्करबाट बुधबार एक पुरुषको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी नम्बरसमेत नखुलेको सवारीसाधनको ठक्करबाट मागी खाई हिँड्ने एक पुरुषको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

मृत्यु भएको अन्दाजी २६ वर्षीय पुरुषको नाम, थर, वतन हाल सम्म खुल्न नसकेको उनले बताए । यता ठक्कर दिएर फरार भएका सवारीसाधन र चालकको तीव्ररुपमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मादक पदार्थ सेवनबाट भारतीयको मृत्यु 

यसैगरी, सप्तरीको बेल्ही चपेना गाउँपालिका–३ नर्घामा मादक पदार्थ सेवन गरेका एकजना भारतीय नागरिकको बुधबार मृत्यु भएको छ ।
स्थानीय भोला यादवको धान किन्ने काँटामा भारतको मधुबनी, विहारको कुइरीबन निवासी ५५ वर्षीय राजकुमार यादव र सोही ठाउँ बस्ने ४२ वर्षीय बिद्रेश्वर सहनी आएका थिए ।

सोही क्रममा अत्यधिक मादक पदार्थ सेवन गरेका राजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लामखुट्टे मार्ने औषधि छर्किदै 

यसैबीच, विगत केही दिनयता सप्तरीको सदरमुकाम राजविराजमा फोहरबाट फैलिएका लामखुटे मार्ने अभियानअन्तर्गत विषादी छर्ने कार्य शुरु गरिएको छ । राजविराज नगरपालिकाको अगुवाइमा लामखट्टेबाट हुने सरुवा रोग— डेंगु, मलेरिया, कालाजरजस्ता रोगलाई नियन्त्रण गर्नका लागि अहिले राजविराजका प्रत्येक वडामा लामखुटे मार्ने औषधि छर्ने कार्यक्रम शुरु गरिएको प्रमुख शम्भुप्रसाद यादवले बताए।

राजविराज नगरपालिकाभित्र पर्ने १ देखि १६ नं वडासम्मका प्रत्येक वडामा लामखुट्टे मार्ने औषधि छर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।सोह्रदिने अभियानअन्तर्गत प्रत्येक दिन एक÷एक वडामा लामखुट्टे मार्ने औषधि छर्ने उनले बताए ।

तपाइँको प्रतिक्रिया ।