ग्यास प्लान्टमा भीषण आगलगी, आगो निभाउन गएका दुईको मृत्यु, ६ घाइते

ग्यास प्लान्टमा भीषण आगलगी, आगो निभाउन गएका दुईको मृत्यु, ६ घाइते

कपन अनलाइन

वीरगञ्ज, पौष ५ ।

वीरगञ्ज महानगरपालिका–२२ रघुनाथपुर पटेलनगरस्थित सुपर ग्यास उद्योगमा आज बिहान भीषण आगलागी भएको छ । बिहान ६ बजेतिर प्लान्टमा ग्यास लिकिज भएर आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएपछि प्रहरीले जगरनाथपुर सुखचैना लगायतका एक किलोमिटर वरिपरि रहेको बस्ती खाली गराइएको छ ।

आगो नियन्त्रण बाहिर गएपछि आगो निभाउन अमलेखगञ्जबाट ल्याइएको नेपाल आयल निगमको दमकल र वीरगञ्जस्थित महावाणिज्य दूतावासले भारतको रक्सौलबाट मगाएको थप एक अर्काे दमकल झिकाइए पनि भीषण आगलागीका कारण घटना स्थल सम्म दमकल जान सकेको छैन । ग्यास भण्डारण गरिएको ठाउँमा आगो बलिरहेकाले आगो नियन्त्रणमा लिन नसिकएको बारुणयन्त्रका कर्मचारीले बताएका   छन् ।

आगलागीमा अन्य कति व्यक्ति हताहत भएको र के कति सम्पत्ति जलेर नष्ट भएको सो खुल्न सकेको छैन । सो आगलागी नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी प्रयासरत रहेका  छन् ।

आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी रहेको छ । बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतो लगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले बताएका छन् ।पर्सा प्रहरीले मृत्युबारे पुष्टि भने गर्न नसकेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताएका छन्।

आगलागीमा परी सख्त घाइते भएकामध्ये अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई थप उपचारका लागि हेलिकप्टरबाट  काठमाडौं पठाईएको  छ ।

तपाइँको प्रतिक्रिया ।