सशस्त्र प्रहरीको मुख्यालयमा आगलागी

सशस्त्र प्रहरीको मुख्यालयमा आगलागी

कपन अनलाइन 

काठमाडौ,पौष ४।

सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालयभित्र सोमबार मध्यराति आगलागी हुँदा महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको छ । राति साढे १ बजे सशस्त्रको स्टोर भएको भवनमा आगलागी हुँदा महत्वपूर्ण कागजपत्र जलेको हो ।

आगलागी शंकास्पद भएपछि सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक प्रेम शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कुनै गोप्य कागजपत्र जलाउने उद्देश्यले आगलागी भएको आशंकामा सशस्त्र प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको हो ।

‘घटना केही शंकास्पद भएकाले नै छानबिन समिति गठन गरेका हौं,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी बाबुराम पाण्डेले भने, ‘कसरी आगो लाग्यो भन्ने खुल्न सकेको छैन ।’
आगलागीबाट २० लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको डिआइजी पाण्डेले बताए । आगलागी घटनाको स्थानीय प्रहरीले मुचुल्का बनाएको छैन । महानगरीय अपराध महाशाखाबाट एक टोलीलाई अनुसन्धानका लागि बोलाइएको प्रवक्ता पाण्डेले बताए ।

सशस्त्र प्रहरी बलभित्र विगतमा भएका आर्थिक अनियमितताका लुकाउने उद्देश्यले कसैले नियोजित रुपमा आगजनी गरिएको हुन सक्ने सशस्त्रका कतिपय अधिकारीहरुले आशंका गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।