अब काठमाडौं उपत्यकामा लाम बसेर गाडी चढ्नु पर्ने
कपन अनलाइन
काठमाडौं, पौष २ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि काठमाडौं उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था मिलाएको छ । तिनमा एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिल रहेका छन् ।
सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो । लाम बसेर सवारी चढ्दा जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाउनेछ । अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जान पाउनेछन् ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनाल यात्रुले सवारी चढ्दा भोग्नु परेको दुःखकष्टमा कमी ल्याउन महाशाखाले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिएका छन् । “यात्रु दुःख पाएर सवारीमा जानुभन्दा एकछिन संयम भएर सवारीमा सुरक्षित गन्तव्य स्थलसम्म पुग्नका लागि हामीले यो कार्यक्रम चलाएका हौँ”, उनले भने ।
महाशाखाले सो अभियान एक हप्तासम्म प्रत्येक दिन बिहान–बेलुका कार्यालय सञ्चालन हुने समयमा चलाउने छ । शुरुको समयमा अभियान सञ्चालनमा केही समस्या परे पनि विस्तारै बानी पर्दै जाने महाशाखाले विश्वास लिएको छ । मर्यादित र व्यवस्थित ट्राफिक होस् भन्ने चाहना महाशाखाको रहेको उनको भनाइ छ ।
सो अभियानलाई सहयोग पुर्याउन महाशाखाले स्काउट र स्वयम्सेवक समेत परिचालन गर्नेछ । नयाँ सडकको प्रवेशद्वार एनएसीबाट मात्र काठमाडौँ उपत्यकाका ८६ स्थानमा जाने सवारी पाइन्छ । उक्त स्थानमा अभियान सञ्चालन गरे धेरै ठाउँमा सहयोग पुग्ने विश्वास महाशाखाको छ ।