नदी सफाइमा चुनावको प्रभाव, ३६ मेट्रिक टन फोहर व्यवस्थापन

नदी सफाइमा चुनावको प्रभाव, ३६ मेट्रिक टन फोहर व्यवस्थापन

कपन अनलाइन 

-पूर्णप्रसाद मिश्र

काठमाडौँ, ९ मंसिर। उपत्यकाका नदी र चक्रपथ सफाइमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रभावले कम उपस्थिति हुन थालेको छ ।
सफाइमा आउने अभियन्ता मतदानका लागि बाहिरिएका छन् । सुरक्षाकर्मी पनि चुनावमा केन्द्रित भएकाले धेरै ठाउँमा तीनवटै सुरक्षा निकाय सहभागी भएनन् । कम सहभागिता भए पनि आज उपत्यकाका नदी र चक्रपथ सफाइबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २३७ औँ हप्तामा आज पशुपतिनाथ राममन्दिर अघिको वाग्मती नदी किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, तिलगंगा महिला समूहलगायत संस्थाका ४०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक समिति सदस्य माला खरेलले जानकारी दिईन् ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाललगायत अभियन्ताको सक्रियता थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९७ औँ हप्तामा आज हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जना भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १९३ औँ हप्तामा आज रातोपुल–सेतोपुल–मैतीदेवी हुँदै वेलकेयर अस्पतालसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान, मेरील्याण्ड स्कुल बालुवाटार र प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो ।

महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २५० भन्दा बढी अभियानकर्मीको सफाइ अभियानमा सक्रियता थियो ।विष्णुमती सफाइको १६५ औँ हप्तामा टोखा तारकेश्वर नगरपालिकाको मनमैजुस्थित नयाँ पुलमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३५० जना भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी विवेक उप्रेतीले जानकारी दिए ।

सफाइका क्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष अमृत थापासहित निर्वाचित वडा सदस्यले सफाइ अभियानमा नियमित सहयोग गर्ने भन्दै शपथ ग्रहण गरे । नियमित सफाइमा तारकेश्वर विकास समाजले समेत साथ दिने प्रतिबद्धता जनाएको छ । मनोहरा नदी सफाइको ३५ औँ हप्तामा आज बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका–ं ३२ का ७७ वर्षीय जगतबहादुर खत्रीलगायत १५० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

चक्रपथ सफाइको ३३ औँ हप्तामा बालाजु चोक–माछापोखरी हुँदै गंगाहलसम्म सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा १५० भन्दा बढी अभियन्ताको सहभागिता थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा केन्द्रित हुनुपरेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति नरहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

यसैगरी मीनभवन आलोकनगर सफाइको ३३ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताउनुभयो । सफाइमा ५० भन्दा बढी महिलाको सहभागिता थियो । यसैगरी चक्रपथ बाफल खण्ड सफाइको १५ औँ हप्तामा कलंकीचोकमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय संघ संस्थाको पनि संस्थागत सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

कलंकीचोकमा वर्षौँदेखि कुहिएर बसेको फोहर आज काठमाडौँ महानगरपालिका वातावरण विभागको सहयोगमा गाडील्याई व्यवस्थापन गरिएको उनले बताए । सफाइ गरिएको फोहरमध्ये छ मेट्रिक टन महानगरपालिका र चार मेट्रिक टन नेप्सेम्याक प्रालिले व्यवस्थापन गरेका थिए ।विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । फलस्वरुप अहिलेसम्म ४२ स्थानमा सफाइ भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।