नेपाल बंगलादेशसँग २ विकेटले पराजित, अन्तिम ओभरमा नेपाल चुक्यो

नेपाल बंगलादेशसँग २ विकेटले पराजित, अन्तिम ओभरमा नेपाल चुक्यो

कपन अनलाइन 

काठमाडौं, २५ कात्तिक । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य ८ विकेट जाँदा अन्तिम अोभरमा पूरा गर्दै बंगलादेशले नेपालविरुद्ध विजय निकाल्न सफल भयो ।जितका लागि अन्तिम अोभरमा ब‌ंगलादेशलाई १० रन अावश्यक थियो ।

कमल सिंहको अन्तिम अोभरमा रविउल हक र नइम हसनले एक एक चाैका प्रहार गरेर बंगलादेशलाई जित दिलाउन सफल भए । अन्तिम अोभरको पहिलो बलमा नै कमलले महिदुल इस्लामलाई आउट गर्न सफल भएका थिए, जसले २० बलमा २३ रन बनाएका थिए । तर, दोस्रो बलमा चाैका र तेस्रो बलमा १ रन गयो । ३ बलमा पाँच रन अावश्यक हुँदा बंगलादेशले चौका प्रहार गर्‍यो र खेल नेपालको हातबाट फुस्कियो । त्यसपछिको बलमा १ रन लिएर रविउल हकले बंगलादेशलाई जित दिलाए ।

नेपालका लागि पहिलो विकेट कमल सिंहले नै बंगलादेशका पिनाक घोसलाई एलबिडब्लू अाउट गरेका थिए जसले ४० बलमा २४ रन बनाएका थिए । सन्दिप लामिछानेले २४ बलमा १२ रन बनाएका मोहम्मद शैफ हसनलाई एलबिडब्लू नै गरेर अाउट गर्न सफल भए । यस्तै अमिनुल इस्लामलाई लामिछानेले नै शून्यमै आउट बनाएका थिए ।

यसैगरी अनिल साहको क्याचमा ८२ बलमा ५२ रन बनाएका नइम शेख अाउट भए भने दिपेन्द्र सिंह ऐरीले २८ बलमा १५ रन बनाएका तौहिद हृदयलाई आउट बनाए । अफिफ हुसैन ३९ बलमा ३३ रन बनाउँदा रन अाउट भए । क्वाजी अाेनिकलाई किशोर महतोले शून्यमै अाउट बनाए ।

मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभल मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालले ब्याटिङ सम्हाल्दै ४० ओभर १ बलमा १ सय ६७ रन बनाउँदा वर्षाले खेल प्रभावित भयो । डकवर्थ लुइस नियमका आधारमा बंगलादेशलाई ४० ओभर १ बलमा १ सय ८१ रनको लक्ष्य दिइएको हो । सुरुमा पनि वर्षाका कारण ढिला गरी सुरु भएको खेल ४३ ओभरमा झारिएको थियो ।

नेपालका लागि भीम सार्कीले ४० बलमा ४४, रोहित कुमार पौडेलले ५४ बलमा ४०, आसिफ शेखले ५२ बलमा ३० रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले ४१ बलमा १२ रन बनाए । बंगलादेशका नइम हसनले तीन साथै अफिफ हुसैन, क्वाजी ओनिक र हसन महमुदले एक एक विकेट लिए ।

तपाइँको प्रतिक्रिया ।