करिब रु ६ करोडको लागतमा धर्मशाला निर्माण शुरु

कपन अनलाइन 

काठमाडौँ, २४ कात्तिक । कुपण्डोलस्थित गुरुद्वार नानक सत्सङ्ग संरक्षण समितिले सोही परिसरमा करिब रु ६ करोडको लागतमा धर्मशाला निर्माण गर्न लागेको छ । करिब चार हजार वर्गफिटको क्षेत्रफलमा फैलिएको उक्त धर्मशाला भूकम्प प्रतिरोधात्मक अत्याधुनिक सेवासुविधा सहित ३५ कक्ष तथा चार तल्लाको हुनेछ । करिब १ वर्षको समयावधिमा निर्माण पूरा गरिने धर्मशालामा स्वदेशका विभिन्न स्थान तथा अन्य मुलुकबाट काठमाडौँ तीर्थयात्रामा आएका यात्री बसोबास गर्न पाउनेछन ।

शिख धर्मका संस्थापक गुरु नानकले अहिंसा, सामाजिक सद्भाव, मानव कल्याणका लागि सामाजिक सेवामा क्रियाशील रहन सर्वसाधारण मानिसलाई अभिप्रेरित गर्नुभएको सम्बन्धित धर्मावलम्बीको विश्वास पाइन्छ । काठमाडौँका विभिन्न स्थानमा गुरु नानक आउनुभएको र अनुयायीलाई धार्मिक शिक्षा दिएको विश्वास छ ।

समितिका अध्यक्ष प्रितम सिंहले काठमाडौँको पाशुपत क्षेत्र, थापाथली, बालाजुलगायत स्थानमा प्राचीन गुरुद्वार रहेको र तिनको दर्शन गर्न आउने यात्रीको सहजतालाई ध्यानमा राखेर सो भवन निर्माण गर्न लागिएको जानकारी दिए । सोही संस्थाका सचिव हरपाल सिंहले स्वदेश तथा विदेशमा छरिएर बसेका शिख धर्मावलम्बीबाट चन्दा संकलन गरी धर्मशाला निर्माण गर्न शुरु भएको बताउँदै सो धर्मावलम्बीका विभिन्न स्थानमा रहेका सम्पदा संरक्षणमा जोड दिए।

तपाइँको प्रतिक्रिया ।