दलहरुले आचारसंहिताको पालना नगरे कडा कारवाही : निर्वाचन आयोग
कपन अनलाइन
काठमाडौं, १८ कात्तिक । दलहरुले आमसभावाहेक अन्य क्षेत्रमा ठूलो आवाजमा माइकिङ गर्न नपाउने भएका छन् ।निर्वाचन आयोगले चुनावी प्रचारका क्रममा ठूलो स्वरमा माइकिङ नगर्न दलहरुलाई निर्देशन दिएको छ । आचारसंहिताको पूर्ण पालना नगर्ने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आचारसंहिताको कडाईका साथ अनुगमन हुने बताए । आयोगको अनुमतिविना सवारी साधनको प्रयोग नगर्न पनि राजनीतिक दल र त्यसका उम्मेदवारहरुलाई आयोगले फेरि निर्देशन दिएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भए–नभएको विषयमा अनुगमन गर्न सबै निर्वाचन क्षेत्रमा टोली परिचालन गरिसकेको छ । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३ सय ३५ महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।
दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि हिजो प्रतिनिधि सभातर्फ १ सय २६ र प्रदेश सभातर्फ २ सय ९ गरी कूल ३ सय ३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।