एनआरएनए नयाँ नेतृत्वमा लागि, आज निर्वाचन हुदै
काठमाडौं, ३० असोज ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । बौद्ध स्थित ह्यात रिजेन्सीमा बिहान ९ बजेबाट सुरु हुने चुनावी प्रक्रियामा ७७ देशबाट सहभागी एक हजार आठ सय ४० गैरआवासीय नेपालीले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने छन्।
आइतबार साँझबाट सुरु भएको उम्मेदवारी दर्ता बिहान ९ बजेसम्म चल्नेछ । एनआरएनको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष भवन भट्ट सहित अध्यक्षका दाबेदार रहेका जमुना गुरुङ र टिबी कार्कीले भने आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक/एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक/एक जना तथा युवा संयोजक र उपसंयोजक एक/एक जना रहने व्यवस्था गरिएको छ ।
ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ । आज दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण आज साँझ नै मत परिणाम आउने आयोजकले बताएका छन् ।आइतबार दिनभरि चलेको बन्द सत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गरेको एनआरएनएका मार्ग दर्शन प्रस्ताव ‘भिजन २०२० एण्ड वियोण्ड’ पारित गरेको छ ।