नेपाल संघीय समाजवादी पार्टीमा ११ राजनीतिक दल समाहित
कपन अनलाइन
काठमाडौं .असोज २४।
नेपाल संघीय समाजवादी पार्टीमा अन्य ११ वटा राजनीतिक दलहरु समाहित भएका छन । आज राजधानीमा सम्पन्न पत्रकार सम्मेलनमा १२ वटा राजनीतिक दलबीच एकता भएको घोषणा गरिएको छ ।
एकीकरण घोषणा कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले आफूहरु तेस्रो वैकल्पिक धारको निर्माणमा लागेको बताउनु भयो । उहाले नेपाललाई ठूला दलहरुले राजनीतिक प्रयोगशाला मात्र बनाउने गरेको आरोप लगाउदै अहिले मुलुकमा देखिएको दुई वटा धार शेरबहादुर देउवाको लोकतान्त्रिक गठबन्धन र केपी शर्मा ओलीको वाम गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने दाबी गर्नु भयो ।
पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै नेपाल संघिय समाजवादी पार्टीका वरिष्ठ नेता बिर बहादुर लामा र वरिष्ठ उपाध्यक्ष राजकुमार यादवले वैकल्पिक शक्तिरुपमा १२ दल विच एकिकरण भएको र अब पार्टी सशक्ति रुपमा अगाडी बढने कुरामा जोड दिनु भएको थियो । पत्रकार सम्मेलनमा एकीकृत पार्टीको नाम ‘नेपाल संघीय समाजवादी पार्टी’, चुनाव बस छाप, पार्टीको झण्डा आयताकार सेतोमा रातो कलरको तीनवटा तारा रहने जनाईएको छ ।
पार्टीको केन्द्रीय समितिमा बढीमा एक सय सम्म सदस्य रहने उपाध्यक्ष राजकुमार यादवले बताउनु भयो । एकिकरण हुने दलहरुमा नेपाल संघीय समाजवादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्ट्रिय समुक्ति पार्टी, किराँत जनवादी वर्कर्स पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनविकास पार्टी, दलित मुस्लिम श्रमिक पार्टी, दलित अधिकार अभियान, गण्डकी, धौलागिरी, लुम्बिनी र संयुक्त दलित अधिकार मञ्च रहेका छन ।