पत्रकार महासङ्घः नयाँ पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण
कपन अनलाइन
काभ्रे, २३ जेठ । नेपाल पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकका निवर्तमान अध्यक्ष नारायण सापकोटाले वर्तमान अध्यक्ष मोतीराम तिमल्सिनालाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।
महासङ्घको आफ्नै भवन बनेपामा सापकोटाले जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । “पुरानो कार्यसमितिले गर्न नसकेको काम यो कार्यसमितिले गर्नसक्छ भन्ने मलाई विश्वास छ”, सो अवसरमा निवर्तमान अध्यक्ष सापकोटाले भन्नुभयो ।
पुरानो कार्यसमितिले सदस्यता शुद्धीकरणलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेकाले नयाँ समितिले यसलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष भोला थापाले पत्रकारलाई नयाँ समितिले दक्ष बनाउनुपर्ने बताउनुभयो ।
पत्रकार महासङ्घका नवनिर्वाचित वर्तमान अध्यक्ष तिमल्सिनाले पहिलेका पदाधिकारीले गर्न नसकेको काम गर्न हामी सधैँ प्रतिबद्ध रहने छौँ भन्नुभयो । आफ्नो कार्यकालमा पत्रकार र गैरपत्रकारबीच रहेको विवाद कम गर्ने र पत्रकारलाई दक्ष बनाउन तालिमको व्यवस्था बताउनुभयो । रासस