जेठ ८ गते आखेटोपहार नष्ट गरिने

कपन अनलाइन 

काठमाडौँ, ४ जेठ । लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा र सशस्त्र वनरक्षक तालिम केन्द्र टिकौलीमा थन्किएर रहेका दुर्लभ वन्यजन्तुका आखेटोपहार यही जेठ ८ गते नष्ट गरिने भएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले सोबारेमा निर्णय गरेको वन तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ । निर्णयानुसार कुहिएर जाने सबै आखेटोपहारलाई नष्ट गर्ने र राम्रो अवस्थामा रहेका केही आखेटोपहारलाई वैज्ञानिक अध्ययन अनुसन्धान, प्रदर्शनी तथा अन्य प्रयोजनका लागि नमुना बारकोडका साथ सुरक्षित राखिनेछ ।

सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित हुने तय भएको जनाइएको छ । हालै संशोधित राष्ट्रिय निकुञ्ज वन्यजन्तु ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम वर्षाैंदेखि भण्डारण गरिएका आखेटोपहार नष्ट गरिन लागेको मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिनुभयो । यसअघि कानुनको अभावमा आखेटोपहार नष्ट गर्न सकिएको थिएन ।

चितवनका टिकौली र कसरामा वर्षांैदेखि भण्डारण गरिएका आखेटोपहारको व्यवस्थापन गर्ने सम्बन्धमा यसअघि व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिले पनि सरकारलाई निर्देशन दिएको थियो । मन्त्रालयबाट पटक पटक सोबारेमा प्रयास भए पनि ती प्रयास असफल भएका थिए । वनमन्त्री शङ्कर भण्डारीले भने मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बेलामा नै यसलाई प्राथमिकतामा राख्नुभएको थियो ।

भण्डारण गरिएका कतिपय छाला बिग्रिएर एकै ठाउँमा छरपष्ट रहेको, टुक्रिएको र कुहिएकाले पनि नष्ट गर्न लागिएको हो । कसरा र टिकौलीमा सयौँ थान गैँडाका खाग, पाटेबाघ, चितुवा, चरी बाघ, निगाले बाघ र सालकको छाला, जङ्गली हात्तीका दाह्रा, भालुको नङ्ग्रा र पित्त, कस्तुरी मृगको बिनालगायत आखेटोपहार सङ्कलन गरिएको छ ।

मुलुकभरबाट बरामद गरिएका सबैखाले आखेटोपहार कसरा र टिकौलीमा भण्डारण गरिएको छ । वन्यजन्तु प्राकृतिक रुपमा मरेमा, चोरी सिकारबाट मारिएमा र तस्करबाट बरामद भएमा वन्यजन्तुका हाड, छाला, रौँ, खाग, खुरलगायत महत्वपूर्ण अङ्ग झिकेर त्यहाँ सुरक्षित राख्ने गरिएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।