करेन्ट लागेर राईको मृत्यु
कपन अनलाइन
धनकुटा, २९ वैशाख । धनकुटा नगरपालिका–१० मूलघाटमा बिजुलीको करेन्ट लागेर स्थानीयवासी ज्ञानबहादुर राईको मृत्यु भएको छ ।
बिहीबार बिहान ९ बजे नेपाल विद्युत् प्राधिकरणको टोलीसँग विद्युत् पोल फेर्न सहयोगीका रुपमा काम गर्न गएका साँगुरीगढी गाउँपालिका–१ का ५६ वर्षीय ज्ञानबहादुर राईको मृत्यु भएको हो ।
जीर्ण भएको पोल फेर्ने क्रममा प्राविधिक ज्ञान नभएका राईलाई पोलको आड लगाउँदा जमिनमा गाडिएको तारमा विद्युत् प्रवाह भएर करेन्ट लागेको हुनसक्ने प्राविधिकहरुको भनाइ छ ।
कोसी पहाडका लागि ३३ केभी प्रसारण लाइनबाट छुट्याइएको तारमा करेन्ट लागेका राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक राईको धनकुटा अस्पतालमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिनुभयो । रासस
तपाइँको प्रतिक्रिया ।