वामदेवको सकृयताले रोकियो समानान्तर कमिटी
कपन अनलाइन, काठमाडौं । एमालेभित्रको माधव नेपाल समूहले एमाले काठामाडौमा बनाउन लागेको समानान्तर कमिटी बन्ने क्षणमा पुगेर रोकिएको छ । एमाले कार्यबाहक अध्यक्ष वामदेव गौतमको सकृयतामा चुनावको पूर्वसन्ध्यामा हुन लागेको डरलाग्दो गतिबिधि रोकिएको हो । एमाले अध्यक्ष उपचारका लागि बैंकक गएकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका एमालेका उपाध्यक्ष वामदेव गौतमले समानान्तर कमिटी घोषणा गरे आसन्न स्थानीय चुनावमा नकारात्मक सन्देश जाने भएकाले रोक्न अनुरोध गरेका थिए ।
एमाले काठमाडौँभित्रको विवाद स्थायी समितिले छिट्टै मिलाउने प्रतिबद्धता गौतमले जनाएपछि समानान्तर कमिटी गठनबाट माधव नेपालपक्षीय जिल्ला नेताहरु पछि हटेको बताइएको छ । संस्थापन पक्षले काठमाडौं जिल्लामा जनाधार भएका नेता कार्यकर्तालाई उपेक्षा गर्दै एकपक्षीय ढंगले गुटबन्दी गर्दैआएको आरोप लिएर माधव नेपाल पक्षीय नेता कार्यकर्ताहरुले विरोध गर्दैआएको अबस्थामा आज एक विशेष भेला आयोजना गरिएको थियो ।
प्रदेश संगठन कमिटीलाई समेत बेवास्ता गरेर जिल्ला संगठन कमिटीका संयोजक कृष्ण राईले कार्यक्रम गरेको आरोप लगाउँदै विवादमाथि विवाद बढ्दै जाने क्रममा आज माधव नेपाल पक्षका नेता कार्यकर्ताहहरुले भेला राखेका थिए । राजधानीको सामाखुसीमा बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठसहितका अतिथिलाई बोलाएर भेला राखिएको थियो । लगभग फुट्ने संघारमा पुगेको एमाले काठमाडौँलाई नेता वामदेव गौतमले तत्कालका टारेका छन् ।