खेल विश्वविद्यालय आवश्यक ः उषाकिरण
कपन अनलाइन
नवलपरासी, १८ चैत । मदन भण्डारी स्र्पोटस एकेडेमीका केन्द्रीय अध्यक्ष उषाकिरण भण्डारीले नेपालमा खेल क्षेत्रको विकास गर्नका लागि खेल विश्वविद्यालय आवश्यक रहेको बताउनुभएको छ ।
खेलप्रति आस्था राख्नेका लागि तथा खेलमार्फत आफ्नो पहिचान गराउन खोज्नेका लागि सहजीकरण गरी समाज रुपान्तरण गर्नु नै आजको आवश्यकता रहेको उहाँले जिकिर गर्नुभयो ।
बिहीबार नवलपरासीको बर्दघाटको चिसापानीमा मदन भण्डारी स्र्पोटस एकेडेमी लुम्बिनी अञ्चल कमिटीद्धारा आयोजित परासी क्षेत्र कमिटीको प्रथम भेलाको प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीकी सुपुत्री उषाकिरणले सो कुरा बताउनुभएको हो ।
देशमा सङ्घीयता लागू भइसकेको अवस्थामा नवलपरासी जिल्ला २ प्रदेशमा बाँडिएको हुँदा परासी क्षेत्रमा एकेडेमीले छुट्टै कमिटी गठन गरेको बताउँदै उहाँले मदन भण्डारी स्पोटर््स एकेडेमीले खेलाडीलाई एकताको सूत्रमा बाँध्दै भविष्यमा ऊर्जावान् खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा सांसद सिन्धु जलेशाले लोप हँुदै गएका खेललाई संरक्षण गरेमा राष्ट्रको पहिचान कायम गर्न सफल हुन सकिने बताउनुभयो । उहाँले फरक फरक खेलमा रुचि राख्ने नेपाली खेलाडीका लागि एकेडेमीले खेलका लागि प्रोत्साहन गर्ने र खेल क्षेत्रका विकृति–विसङ्गति हटाउनका लागि सरकारलाई दबाब दिने बताउनुभयो ।
कार्यक्रममा जिल्लाको परासी क्षेत्रबाट राष्ट्रियस्तरको तेक्वान्दो खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी प्रेमबहादुर नेपाली र रबिन अधिकारीलाई सम्मान गरिएको थियो ।
मदन भण्डारीको जनताको बहुदलीय जनवाद भन्ने मान्यतालाई जीवन्त राख्दै विशुद्ध खेल क्षेत्रको विकास गर्ने उद्देश्यले २०६६ साल पुस १६ गते मदन भण्डारी स्पोटर््स एकेडेमी गठन भएको हो । रासस