बुद्ध मण्डला निर्माणार्थ एक करोड १८ लाख सङ्कलन

कपन अनलाइन 

पोखरा, १३ फागुन । पोखरा उपमहानगरपालिका–२१ काहुँकोटमा निर्माण गर्न लागेको यशोधरा वाटिका एवम् विश्वकै अग्लो बुद्ध मुर्तिका लागि एक सय ८९ रोपनी जग्गा र रु एक करोड १८ लाख नगद सङ्कलन भएको छ ।

धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिद्धारा आज काहुँकोटमा आयोजित बुद्ध मण्डला निर्माणार्थ भूमिदान कार्यक्रममा धारापानी सामुदायिक वन उपभोक्ता समूहले १७० रोपनी जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो ।

त्यस्तै सो कार्यका लागि रु सात करोडको लागतमा छ रोपनी जग्गा खरिद गरी सकिएको छ भने स्थानीय समाजसेवी गमबहादुर गुरुङ, खिमबहादुर गुरुङ र इन्द्रबहादुर गुरुङको परिवारले आफ्ना पुर्खाको स्मृतिमा एक÷एक रोपनी जग्गा समितिलाई निःशुल्क प्रदान गर्ने घोषणा गर्नुभयो ।

सो स्थानमा लगभग पाँच अर्बको लागतमा ८० मि उचाइको विश्वकै अग्लो बुद्ध मुर्तिसहित सङ्गहालय, पार्क, ध्यान केन्द, अध्ययन केन्द्रलगायत विभिन्न भौतिक संरचना निर्माण गरिने लक्ष्य रहेको धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङले जानकारी दिनुभयो ।

धर्मकाया बुद्ध मण्डल विकास एवम् व्यवस्थापन समितिका संरक्षक तथा लामा गुरु साङ्पा रिम्पोछेले सो कार्यक्रमको उद्घाटन गर्दै जग्गादाता र नगद प्रदान गर्नु हुने दानवीरलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

पोखराको जुनसुकै स्थानबाट पनि स्पष्ट देख्न सकिने गरी भगवान् बुद्धको मूर्ति निर्माण गरिने बताउँदै उहाँले विश्वका मासिनलाई यस क्षेत्रमा आउने वातावरण तयार हुनुका साथै काहुँकोटको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

उक्त बुद्धकाया निर्माणका लागि उहाँले आफ्नो व्यक्तिगततर्पmबाट दश लाख र विभिन्न मुलुकका अनुयायीबाट सङ्कलन भएको रु दश लाखसहित कुल २० लाखको चेक समितिका अध्यक्ष रुद्र कुमारी गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।

धारापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमार क्षेत्रीले बुद्धकाया मण्डला निर्माणले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वन समूहले निःस्वार्थ जग्गाको स्वामित्व समितिलाई हस्तान्तरण गरेको बताउनुभयो ।

समुन्द्री सतहबाट एक हजार ४२८ मिटरको उचाइमा रहेको सो रमणीय कोटबाट माछापुच्छे्र्र, अन्नपूर्ण, धौलागिरि, मनासलुलगायत विभिन्न हिमशृङ्खलासहित पोखरा बजारको स्पष्ट दृश्यावलोक गर्न सकिन्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, समितिका महासचिव राजबहादुर गुरुङ समितिका सल्लाहकार अशोक पालिखेलगायत जग्गा तथा नगद प्रदान गर्नुहुने सामाजिक एवम् धार्मिक व्यक्तित्वले बुद्धधर्मको माध्यमबाट विश्वशान्तिमा महत्वपूर्ण योगदान पुगेको बताउँदै काहुँकोटमा निर्माण गरिने बुद्ध मण्डलाले आन्तरिक तथा बाह्रय पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।