फागुन ७ गते कागेश्वरी महोत्सव, यस्तो महत्व छ कागेश्वरीको

फागुन ७ गते कागेश्वरी महोत्सव, यस्तो महत्व छ कागेश्वरीको

कपन अनलाइन, काठमाडौँ, केशव पाठक । काठमाडौँको उत्तरपूर्वि क्षेत्रमा रहेको प्रशिद्ध कागेश्वरी क्षेत्रको विकास र प्रवर्द्धनका लागि फागुन ७ गते कागेश्वरी महोत्सव हुँदैछ । कागेश्वरीमा महोत्सव हुन थालेको यो दोस्रो वर्ष हो । सांसद रामेश्वर फुँयालको विशेष अग्रसरता तथा स्थानीयवासीको चासोमा हुन लागेको यस महोत्सवले धार्मिक पर्यटनलाई प्रोत्साहन दिने छ । सांसद फुयाँलले कागेश्वरीमा विशाल कागको मूर्ति राख्न सांसद विकास कोषबाट बजेटको व्यवस्थासमेत गरिसकेका छन् ।

स्थानीय सम्पदाको विकास र पहिचानले समाजलाई सभ्य र सुसंस्कृत बनाउने विचार राख्ने सांसद फुयाँलकै अगुवाईमा माघ १ गते तारेभीर पर्यटन महोत्सव सम्पन्न भएको छ । कागेश्वरी महोत्सव, तारेभीर महोत्सवका साथै मणिचुड महोत्सव पनि सांसद फुयाँलको प्रयासमा हरेक वर्ष हुन थालेको छ । सांसद फुयाँलले आफ्नो निर्वाचन क्षेत्र तथा आसपासका क्षेत्रको मौलिकता र पुराना सभ्यतासँग जोडिएका विषयलाई हरेक वर्ष सांसद कोषको विकास सूचिमा समेत राखेका छन् ।

कागेश्वरी नेपालको राजधानी काठमाडौँको उत्तरपुर्वी कागेश्वरी मनहरा नगरपालिका वडा नं. चौध, पहिले (गागलफेदी गाविस)मा अवस्थित एक धार्मिक तथा पर्यटकीय स्थल हो । यस स्थललाई कागेश्वरी महादेव मन्दिरको नामले पनि चिनिन्छ । हरेक वर्ष वर्षमा एक पटक भाद्र शुक्ल अष्टमिका दिन मेला लाग्ने यस तीर्थस्थलमा हजारौँ दर्शनार्थीहरु मेला भर्न आउँछन् ।

प्राकृतिक मनमोहक दृश्यसंगै शास्त्रीय नृत्यमा ढ्याङ्ग्रो बजाई नाचगान गर्ने दृश्य झनै मनमोहक र सूचनाप्रद हुन्छ । ढ्याङ्ग्रो बजाई महादेवको पुजा गर्नेमा लामा, तामाङ जातिको विशेष सहभागिता रहन्छ । साथै स्थानिय नेवार जातिले लाखे नाचको आयोजना गर्दछन । यस्तो सांस्कृतिक तथा धार्मिक महत्वको जात्रा अवलोकन गर्नका लागी साँखु, थली, जोरपाटी, सुन्दरीजल, नयाँपाटी, गागल, तथा भक्तपुर, ललितपुरबाट पनि दर्शनार्थीहरूको उल्लेखनीय उपस्थिति हुन्छ ।

यमराजको दुत कागले मान्छेलाई छुॅदा अशुभ हुने र त्यसबाट मुक्त हुन कागेश्वरी मन्दिरको पोखरीमा नुहाउनु पर्ने धार्मिक मान्यता रहेको छ । जात्राको समयमा सञ्चालन हुने विभिन्न शिविरले पनि व्यवस्थापनमा सहज वातावरण सिर्जना गर्छ । यस स्थलमा रहेको मन्दिरमा पुजा गर्दा तथा पोखरीमा नुहाउँदा पाप पखालिने र मुक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ ।

जात्राको महत्वसंगै आर्थिक पक्ष पनि जोडिएको छ । समान खरिद बिक्रिका लागी पनि सहयोग पुग्दछ । यस क्षेत्रको विकास र संरक्षणका लागी स्थानिय तथा सरकारी तवरबाट नै पहल सुरू गरिएको छ, कागेश्वरीधामका रूपमा विकास गर्ने योजना बनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।