पुरस्कार पाएको रकममा थप गरी छात्रवासमा रहेका २५ जना अनाथलाई सहयोग
कपन अनलाइन / मिना ठकुरी
धनगढी, १३ माघ । धनगढीस्थित ऐश्वर्या विद्या निकेतन कक्षा ५ मा अध्ययनरत छात्र मिनेन्द्र यादवले तारानगरमा रहेको आमाको माया छात्रवासमा रहेका २५ जनालाई सहयोग गरेका छन् ।
विद्यालयको विज्ञान प्रदर्शनीमा द्धितीय भएर पाएको पुरस्कार रु तीन हजारमा थप गरेर सो छात्रावासमा रहेका २५ जना विद्यार्थीलाई स्वीटर र टोपी सहयोग गरेका हुन् ।
आफू अध्ययनरत विद्यालयको विज्ञान प्रदर्शनीमा पाएको रु तीन हजार पुरस्कारमा थप गरी हजुर आमा, आमाबुवा र गाउँ जाँदा जम्मा गरेर राखेको रुपैयाँले छात्रवासमा रहेका विद्यार्थीहरुलाई उक्त सहयोग प्रदान गरेको मिनेन्द्रले बताए ।
एक दिन बुवासँग सो छात्रावास भएर स्कुल आउने क्रममा जाडोले कापी रहेका देखे उनले भने बुवालाई सोधे, बुवाले अनाथ वालवालिका छात्रवासमा बस्छन् र पढ्छन् भनेपछि आफ्नो मनमा सहयोग गर्ने भावना जाग्यो र सहयोग गरे ।
कक्षामा ५ मा अध्ययनरत मिनेन्द्रको यो सहयोगले सामाजिक उत्तरदायित्व पूरा गरेको ऐश्वर्या विद्या निकेतनका प्रधानाध्यापक धर्मदेव भट्टले बताए । उनले भने यादवको समाजप्रतिको चिन्तनले राष्ट्रसम्म सकारात्मक सन्देश पुग्नेछ ।
कक्षा ५ ए सेक्सनमा अध्ययनरत मिनेन्द्र आफ्नो कक्षाका टपर विद्यार्थी रहेको विद्यालयले जनाएको छ । सो सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा उनका बुवा पूर्णशंकर यादवको समेत सहभागीता थियो ।