भूकम्पपछि पुनःनिर्माण सामुदायिक भवनको उद्घाटन

कपन अनलाइन 

भक्तपुर, १२ माघ । चा“गुनारायण नगरपालिका पौवास्थित भूकम्पले क्षतिग्रस्त सामुदायिक भवनको पुनःनिर्माण गरिएको छ । महिला तथा बालबालिकाको आयआर्जनको लागि सिकाइ केन्द्र सञ्चालन गर्न उक्त सामुदायिक भवन निर्माण गरिएको हो ।

आइसिए जापानको करिब रु एक करोड ४० लाखको आर्थिक सहयोग र आइसिए नेपालको सक्रियतामा ११ कोठे दुईतले सो सामुदायिक भवन पुनःनिर्माण गरिएको आइसिए नेपालका अध्यक्ष तत्वप्रसाद तिमल्सिनाले बताउनुभयो ।

सन् २००२ मा जापान सरकारकै आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवन २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि पुनः जापानको परराष्ट्र मन्त्रालय ओएफएले मर्मत तथा पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेको थियो ।

आइसिए नेपाल र आइसिए जापानको संयुक्त प्रयासमा सन् २०१६ मा कार्यान्वयन गरिएको परियोजनाले सिकाइ केन्द्रको पुनःनिर्माण, पुनर्वासका लागि स्थानीय समूहको भेटघाट छलफल, दैवीप्रकोपको पीडाबाट गुज्रिरहेको मनो–सामाजिकसम्बन्धी सहयोगात्मक क्रियाकलाप र महिलाका लागि आयआर्जनसम्बन्धी कार्यक्रम गर्दै आएको तिमल्सिनाले जानकारी दिनुभयो ।

सिकाइ केन्द्रमा आयआर्जनसम्बन्धी कायक्र्रमअन्तर्गत महिलालाई सेनेटरी प्याड बनाउने तालिम दिएर मेसिनसमेत जडान गरी सेनेटरी प्याडको उत्पादन तथा बिक्री वितरणमा सक्रिय गराएको छ ।

स्थानीय महिलालाई ‘नेपकिन’ निर्माण तथा बिक्री वितरणको ‘बजार व्यवस्थापन’ नामक तालिमसमेत दिइएको छ । पूर्वप्रधानमन्त्री तथा (एमाले)े नेता माधवकुमार नेपालले उक्त भवनको उद्घाटन गर्नुभएको हो । रासस

तपाइँको प्रतिक्रिया ।