दुर्घटनामा प्रहरीको मृत्यु

कपन अनलाइन 

रत्ननगर (चितवन): तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । गएराति करिब ८ः३० बजे साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

सो दुर्घटनामा परी मोरङ घर भई सोही शिक्षालयमा कार्यरत ३३ वर्षीय सुमन घिमिरे गम्भीर घाइते भएका छन् । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । चितवनको रत्ननगरबाट तरकारी बोकेर काठमाडौँ जाँदै गरेको ना ३ च ८३१ नंको बोलेरो जिपले साइकलमा सवार प्रहरीलाई ठक्कर दिएको हो । जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको र शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

बसिलो प्रहार गरी हत्या यसैबीच, दक्षिण चितवनको माडीमा बसिलो प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । माडी नगरपालिका–१२ स्थित बाँदरझुलाका ३६ वर्षीय रामलाल रोडाको बसिलो प्रहारबाट हत्या भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
हत्यामा संलग्न रहेको आरोपमा स्थानीयवासी २८ वर्षीया इन्द्रमायाँ चेपाङ र उनका श्रीमान सानु रुम्वालाई प्रहरीले पक्राउ गरेको छ । सानु रुम्वाको घरमा आएका बेला रोडालाई बसिलोले हानेर मारेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

मङ्गलबार बिहान घटना भएपछि उनीहरुले जङ्गलमा खाल्डो खनेर शव गाड्न लाग्दा मात्रै प्रहरीले अपराह्न घटना थाहापाएको थियो । खोजतलासका क्रममा गएराति मात्रै प्रहरीले जङ्गलबाट बसिलो र शव फेला पारेको हो । प्रहरी उपरीक्षक थापाका अनुसार सानु रुम्वा काठमाडौँमा रहेको मौकामा रामलाल रोडा इन्द्रमायाँलाई भेट्न पुगेका थिए ।

सोही राती सानु रुम्वा एक्कासि घर आएपछि घटना हुन पुगेको अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाएको र दम्पतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।