विद्युत् चुहावट नियन्त्रण गर्न मिटर जडान गरिँदै
कपन अनलाइन, इनरुवा, २८ मङ्सिर ।
सुनसरी घुस्की गाविसका मिजाज अन्सारी करिब दुई वर्षदेखि चोरी गरी विजुली बाल्दै आउनुभएको थियो । यसरी विद्युत् चोरी गर्ने अन्सारीको घरमा अहिले मिटर जडान गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले अन्सारीको घरमा विद्युत् मिटर जडान गरेको हो । अन्सारीले जस्तै घुस्की गाविसका अधिकांशले चोरी गरेर विजुली बाल्दै आएका थिए । अहिले इनरुवा वितरण केन्द्रका कर्मचारीले विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत चोरी गरेर विजुली बाल्दै आएका स्थानीयवासीको घर घरमा गई मिटर जडान गर्न थालेका छन् ।
कार्यालयले घुम्ती शिविरको आयोजना गरेर मिटर बक्स, तारलगायतका सामग्री उपलब्ध गराएको छ । मिटर जडान गरिदिएपछि उपभोक्ताले विजुली चोरी गर्न छाडेका छन् ।
प्राधिकरणका इनरुवा वितरण केन्द्रका प्रमुख सञ्जयप्रसाद गुप्ताले विद्युत् चुहावट नियन्त्रण अभियानका कारण विद्युत् चुहावटमा कमी आएको बताउनुभयो । रासस