जग्गाधनी नभेटिँदा पुनःनापीमा कठिनाइ

कपन अनलाइन, ललितपुर, १ मङ्सिर ।

नापीको टोली फिल्डमा पुगेपछि जग्गाधनी नभेटिँदा जिल्ला नापी कार्यलयलाई पुनःनापीको काम अघि बढाउन गाहे भएको छ ।

नापी भएको पाँचदशक पछि पुनःनापी भइरहँदा जग्गाधनीले भने आफूसँग कागजात छँदैछ किन नापी गर्ने भनेर चासो नदिएको कार्यलयका प्रमुख बुद्धिमान जैसीले बताउनुभयो ।

‘पहिले बेवास्ता गर्ने जग्गाधनीले पछि विवाद झिक्ने गर्छन् । जग्गाधनी फिल्डमा नभेटिँदा नापी लम्बिन्छ ।’ उहाँ भन्नुहुन्छ, ‘पहिले बेवास्ता गर्ने नै पछि फेरि गएर फेरि नाप्नुप¥यो भन्दै कार्यलय आउने गर्छन ।’

टोली खटिएको समयमा जग्गाधनी भेटिँदा सहज भए पनि फेरी टोली पठाउन गाह्रो हुने भएकाले ‘विवाद वा समस्या आए पनि फिल्डमा छिटो र सजिलो त्यो समाधान हुन्छ । तर कार्यलयका प्रतिनिधि नापीका लागि जाँदा कतिपय जग्गाधनीले फुर्सद नभएर र धेरैले बेवास्ता गरेर घर वा जग्गामा उपस्थित नहुने कार्यालय प्रमुख जैसी बताउनुहुन्छ ।

कार्यालयले जग्गाको अवस्थामा कयौं गुणा परिवर्तन भएका इमाडोल, टिकाथली, सैबु, उपमहानगरपालिकाका विभिन्न स्थानमा तीन वर्षदेखि पुनःनापी गर्दै आएको छ । विसं २०२१ पछि यी स्थानमा नापी हुन सकेको थिएन । पुनःनापी भइरहेका यी स्थानमा जग्गाको स्वरुप झन्डै ४०० प्रतिशतसम्म परिवर्तन भएको पाइएको कार्यलयले जनाएको छ ।
जग्गाको स्वरुपमा झन्डै ६० प्रतिशत परिवर्तन हुँदा पुनःनापी गर्नुपर्ने हुन्छ । रासस

तपाइँको प्रतिक्रिया ।