पाँच नगरपालिका र ६ गाउँपालिका बनाउने सहमति
कपन अनलाइन, चन्द्रौटा (कपिलवस्तु), २० कात्तिक ।
कपिलवस्तुमा पाँचवटा नगरपालिका र ६ गाउँपालिका बनाउने सर्वदलीय सहमति जुटेको छ । स्थानीय निकायको सिफारिस गर्न गठित जिल्ला प्राविधिक समितिको आयोजनामा भएको सर्वदलीय बैठकमा एमाले र (माओवादी केन्द्र)को नगर फुटाउने विषयमा फरक मत रहेपनि ११ बनाउनेमा भने सर्वसहमति भएको हो ।
कपिलवस्तुको शिवराज नगरपालिकामा थुह्न्यिा र लालपुर मिलाएर चन्द्रौटा केन्द्र तोकिएको छ । कृष्णनगर नगरपालिकामा बहादुरगन्ज, भगवानपुर, पुरुषोत्तमपुर, भिल्मी र अजिगरा गाविस गाभिएका छन् । बहादुरगन्जमा नगर सदरमुकाम तोकिएको हो ।
कपिलवस्तुको बुद्धबाटीका र भृकुटीसहितका महुवा मानपुर, बलरमवापुर गाविस मिलाइएर बुद्धभूमि नगरपालिका बनाउने सिफारिस भएको छ । कपिलवस्तु नगरपालिकामा धनकौली, दोहनी र धरमपनियाँ गाभिएका छन् ।
बुद्धभूमि नगरपालिकाबाट पटना र हथौसा गाविस झिकिएका छन् ।
बाणगङ्गा नगरपालिकाको केन्द्र जितपुर तोकिएको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवा, बुद्धभूमिको बुडी हनुमानचोक केन्द्र तोकिएको छ ।
छवटा गाउँपालिका अन्तर्गत पकडी केन्द्रमा पकडी, डुमरा, हरनामपुर, अभिराव, बलुहवा, पिपरा र बिजुवा गरी सात गाविस समावेश भएका छन् ।
लवनी केन्द्रमा लवनी, पतेरिया, नन्दनगर, बाँसखोर, विठुवा र हथिहवा गरी ६ गाविस समावेश भएका छन् । निग्लीहवाको पचेहरा केन्द्र हुनेगरी पटना, हथौसा, फुलिका, जहदी र निग्लीहवा गरी पाँच गाविस समावेश गरिएका छन् ।जिल्लाको सुदूरपश्चिमी भेगका शिवगढी, खुरुहुरिया,गुगौली, पत्थरदेहीया र गणेशपुर गरी पाँच गाविस मिलाएर बन्ने गाउँपालिकाको केन्द्र भटनी प्रेमनगरलाई तोकिएको छ ।
सौराह, शिहखोर सोमडिह, बैदौली, पर्साेहिया, रङ्गपुर, तितिर्खी, बसन्तपुर र गौरी गरी– ९ गाविस मिलाएर बैदौली केन्द्र तोकिएको छ ।
बाण्गङ्गाका पटना र हथौसालाई फटाएर फुलिका जहदी र निग्लीहवा समावेश गर्दै पचेहरालाई गाउँपालिकाको सदरमुकाम तोकिएको छ ।जनसङ्ख्याको मापदण्ड नपुगेका नगरपालिकामा गाविस थपिएका छन् ।
जनसङ्ख्या नपुगेका नगरपालिका गाभ्ने र नगरमा गाविस मिलाउन सहमति भए पनि नगरपालिका भइसकेका ठाउँलाई गाउँपालिकामा झार्नु एक प्रकारको प्रतिगमन भएकाले केहीले विरोध समेत गरेका थिए ।यता जिल्ला प्राविधिक समितिका संयोजक स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले सबैको सहमतिमा ११ निकायको सिफारिस केन्द्रमा पठाइने बताउनुभयो । उहाँले भन्नुभयो “भएका निर्णयप्रति पश्चाताप गर्नुपर्ने स्थिति छैन अझै जे मिलेका छैनन् ती मिलाउन स्थानीय निकाय टुङ्गो लगाउने केन्द्रीय आयोगबाटै समाधान खोजिनुपर्छ ।” रासस