महिलाको मृत्युपछि प्रहरी वृत्तमा तोडफोड
कपन अनलाइन, भक्तपुर, १२ कात्तिक ।
मोटरसाइकलको ठक्करबाट मृत्यु भएको महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी वृत्त थिमिमा तोडफोड गरेका छन् ।
तीव्रगतिमा आएको बा८०प ५००८ नम्बरको मोटरसाइकलको ठक्करले हिजो साँझ मध्यपुरथिमिमा दोलखा–८ जिरीकी ४५ वर्षकी कमला भन्ने सरस्वती खड्काको मृत्यु भएपछि आज प्रहरी वृत्त थिमिमा क्षतिपूर्तिको माग गर्दै घेराउ गरेका छन् ।
पीडितका आफन्तले मृतकका दुई छोराछोरीको पढाइ, पालनपोषणको जिम्मेवारी लिनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरी वृत्त घेराउ गर्नेहरुले ढुङ्गा प्रहार गर्दा प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएका छन् । घाइतेको मध्यपुर अस्पतालमा उपचार गरी टाउँकोमा टाँका लगाइएको छ ।
ढुङ्गा प्रहारबाट महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाको गाडीकोे सिसा फुटेको छ भने प्रहरी वृत्त थिमिको भवनको सिसा फुटेको छ । तोडफोडबाट करिब रु एक लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
तोडफोडमा संलग्न रहेका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनाब बढेपछि सुरु भएको वार्तामा मृतकका पक्षबाट सांसद एवम् पूर्व संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङलगायतका टोलीसमेतको सहभागिता रहेको छ । रासस