मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग
कपन अनलाइन
काठमाडौं भदौ ३१।
काठमाडौं भदौ ३१।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) द्धारा ११ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
मुक्तिनाथ बाबाको संरक्षकत्वमा रहेको अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट तथा मुक्तिनाथ परिवारको तर्फबाट उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
विपद्को कठिन घडीमा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्य, सामाजिक संस्था, धार्मिक संघसंस्था तथा आम नागरिकबीच राष्ट्रिय एकता, समन्वय र सहकार्य आवश्यक रहेको ट्रष्टले जनाएको छ ।
ट्रष्टले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुर्याउन नेपाल सरकारसँगको समन्वयमा थप मानवीय सहयोग जुटाउने जनाएको छ । त्यसका लागि नेपाल तथा विदेशमा रहेका नेपालीहरूलाई समेत स्वेच्छिक रूपमा राहत अभियानमा सहभागी हुन अपिल गरिएको छ।
मुक्तिनाथ बाबाले विपद्को समयमा पीडित नागरिकको साथमा उभिन सबैलाई आह्वान गर्दै ‘सेवा नै परम धर्म हो’ भन्ने भावनाका साथ मानवीय सेवामा जुट्न आग्रह गरेका छन ।
विपद् कुनै व्यक्ति, समुदाय वा क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा पीडा भएकाले यस्तो अवस्थामा सहयोग, सहानुभूति र मानवीय सेवामार्फत पीडितको जीवनमा आशा जगाउनु सबैको साझा दायित्व भएको ट्रष्टले जनाएको छ ।
यस सहयोग रकम संकलनमा मुक्तिनाथ बाबाको संरक्षकत्वमा रहेको श्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठ भक्तपुर, श्रीगजेन्द्रमोक्ष दिव्यधाम नवलपरासी, श्रीपञ्चकोट विकास परिषद् बागलुङ, श्रीरामबेटेश्वर मन्दिर बागलुङ तथा श्रीमुक्तिनाथ सन्त सेवाश्रम पोखरा लगायतका संस्थाहरूको योगदान रहेको छ ।
तपाइँको प्रतिक्रिया ।
