अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

कपन अनलाइन
काठमाडौं भदौ २९।

नेपाली केम्पोले पोर्चुगलमा भएको केम्पो अन्तर्राष्ट्रिय ओपन कपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच पदक जितेको छ ।
पोर्चुगलको अल्बुफेरामा जारी च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, दुई रजत र एक कांस्यसहित पाँच पदक जितेको हो। केम्पोलाई मार्सल आटर््सकै हाइब्रिड विधाका रूपमा चिनिन्छ । १४ वर्षे रोशनकुमार यादवले एक्लैले पाँच पदक जित्दै नेपाली केम्पोमा उल्लेखनीय उपलब्धि दिलाएको नेपाल केम्पो खुकुरी फेडेरेसनले जनाएको छ । रोशनले विभिन्न पाँच विधामा प्रतिस्पर्धा गरेका थिए । उनले फुल केम्पो ४० केजी र सबमिसन केम्पो ४० केजी विधामा स्वर्ण पदक जिते । एम्प्टी ह्यान्ड काटा र सेमी केम्पोमा भने रोशन रजत पदकमा नै सीमित भए । उनले लाइट केम्पोमा कांस्य पदक जितेको नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले जानकारी दिए ।
एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा १४ वर्षे रोशनले पाँच पदक जित्नु नेपाली केम्पोका लागि महत्वपूर्ण उपलब्धि रहेको फेडेरेसनले जनाएको छ । पोर्चुगिज केम्पो तथा इन्टरनेसनल केम्पो फेडेरेसन (आइकेएफ) ले आयोजना गरेको प्रतियोगितामा उनको प्रदर्शनले अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीको क्षमता र नयाँ पुस्ताको सम्भावनासमेत देखाएको फेडेरेसनको विश्वास छ ।
नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले पोर्चुगलमा प्राप्त सफलतालाई नेपाली केम्पोका लागि ठूलो उपलब्धि र ऐतिहासिक रहेको बताए । ‘यो हाम्रो लागि अत्यन्तै गर्वको क्षण हो । एउटै खेलाडीले दुई स्वर्णसहित पाँच पदक जित्नु सामान्य होइन । यसले नेपाली केम्पोको क्षमता अन्तर्राष्ट्रिय स्तरमा बलियो हुँदै गएको देखाउँछ,’ अध्यक्ष शाहले भने ।
गत अप्रिलमा सम्पन्न केम्पो विश्व च्याम्पियनसिपमा नेपालले विभिन्न विधामा २५ पदक जितेको फेडेरेसनले जनाएको छ । केम्पोमा विभिन्न सात विधामा हरेक खेलाडीले प्रतिस्पर्धा गर्ने गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।