जुगल नवगुरुकुलको दोस्रो जुगल यू–१४ अन्तरविद्यालय फुटसल प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौं भदौ ११ ।
जुगल नवगुरुकुल, बुढानीलकण्ठ–१०, कपन, काठमाडौँद्वारा आयोजित दोस्रो जुगल यू–१४ अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ।
दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयबाट जम्मा २४ टोली सहभागी भएका थिए। प्रतिस्पर्धात्मक तथा उत्साहपूर्ण प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मनकामना सेकेन्डरी स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी बोधि सदन स्कुल दोस्रो स्थानमा रहँदा आयोजक जुगल नवगुरुकुल ले तेस्रो स्थान हासिल गरेको छ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारसमेत प्रदान गरिएको थियो। जुगल स्कुलका दीपाञ्जल भट्टराई ले उत्कृष्ट गोलरक्षक (Best Goalkeeper) को उपाधि प्राप्त गरे भने मनकामना स्कुलका नोर्बु शेर्पा ले उत्कृष्ट खेलाडी (Best Player) को उपाधि जित्न सफल भए। प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, नेतृत्व क्षमता, सहकार्य तथा आपसी सम्मानको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजक पक्षले जनाएको छ।
प्रतियोगिताको मुख्य सन्देश “खेलौं जोशका साथ, जितौं सम्मानका साथ” रहेको थियो।
