घुम्ती प्रतिभा चयन
कपन अनलाइन
काठमाडौं,साउन २१।घुम्ती कवि गोष्ठी नेपालले हरेक वर्ष अर्पण गर्दै आएको तीन पुरस्कारलाई निरन्तरता दिदै २०८३ को लागि तीन प्रतिभा चयन गरेको छ । जस अनुसार साहित्यकारहरु ठाकुर शर्मा भण्डारीलाई घुम्ती बलभद्र टेक कुमारी छन्द साधना सम्मान २०८३,वेदमणि घिमिरेलाई घुम्ती नालाङ्ग काव्य सम्मान २०८३ र चन्द्रा न्यौपानेलाई घुम्ती रमा बद्री काव्य सम्मान २०८३ अर्पण गरिने भएकोछ । घुम्ती कवि गोष्ठी नेपालको कार्य समिति बैठकले साहित्यकार दुर्गा अधिकारी भमरकोटे संयोजक संस्थाका कोषाध्यक्ष रामचन्द्र दाहाल र साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहेको तीन सदस्यीय प्रतिभा चयन समितिको सिफारिसमा सो निर्णय गरेको थियो । अध्यक्ष माधवलाल श्रेष्ठ ,उपाध्यक्ष त्रिलोचन आचार्य र सदस्य विमल अर्यालले स्थापना गर्नुभएको सो पुरस्कारहरुमा नगद दश हजार सहित सम्मानपत्र रहेको घुम्तीका पूर्व अध्यक्ष परशुराम परासरले बताउनुभयो । सो पुरस्कार आगामी भदौ १४ गते आइतबार संस्थाको तेस्रो साधारण सभाको अवसरमा अर्पण गरिने सचिब घनश्याम प्रसाइंले जानकारी दिनुभयो । घुम्ती कवि गोष्ठी नेपालले बिगत १४ वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार विभिन्न फरक फरक ठाउँमा घुम्ती कवि गोष्ठी गर्दै आएको छ ।
