शारीरिक सुगठन टोलीको स्वागत

शारीरिक सुगठन टोलीको स्वागत

कपन अनलाइन

काठमाडौं असार २१।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई आइतबार स्वागत गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा सांसद् रजनी श्रेष्ठ र राखेपका सदस्य–सचिव रामचरित्र मेहताले टोलीलाई स्वागत गरे ।
सो अवसरमा सांसद् श्रेष्ठले पदक विजेताको नगद पुरस्कारका लागि राखेपले पहल गर्नु पर्ने बताउदै पदक विजेतालाई बधाई दिइन् ।
सदस्य–सचिव मेहताले खेलाडीले पदक जितेर राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेको बताउदै खेलाडीलाई दिने सुविधा सम्बन्धमा संघसंग चाँडै छलफल गर्ने बताए । उनले कानून सम्वत हुने र श्रोत÷साधनले भ्याएसम्म सबैको काम गर्ने प्रतिबद्धता जनाए ।
त्यसअघि आइतबारै टोलीलाई सांसद् श्रेष्ठ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थसहितका पदाधिकारी, खेलाडी, प्रशिक्षक आफन्तलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमनस्थलमा स्वागत गरेका थिए । टोलीलाई विमानस्थलबाट नगरपरिक्रमा गराई राखेपमा ल्याएको थियो ।
असार १६ देखि २० गतेसम्म भुटानको थिम्पुमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण, ३ रजत र १ कांस्य पदक जितेको थियो ।
दोहोरो पदक जितेकी विनु जिटीले महिला स्विमसुटमा स्वर्ण र मोडल फिजिकमा रजत जितिन् । पुरुष ८० केजीमा सगेन्द्र सिंह र पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले स्वर्ण जिते । महिला एथलेटिक फिजिकमा सीता खत्री र महिला टिम च्याम्पियनसिपमा नेपालले रजत जितेको थियो । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कांस्य हात पारेका थिए ।
पुरुष ८५ केजीमा सागर श्रेष्ठ तथा पुरुष ७५ केजीमा दीपजंग रोका मगर पाँचौं भए । अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारी तथा निर्णायकमा जोनसन जोनछेन रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।