१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित
कपन अनलाइन
काठमाण्डौ,असार ३ ।
बुढानिलकण्ड नगरपालिकाले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको समूह चरणको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल प्रवेश गरेको छ ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा सोमबार देखि सुरु प्रतियोगिताको समूह बी मा रहेको बुढानिलकण्डले मंगलबार ट्रेनिङ ग्राउण्डलाई ५७-५० ले पराजित गर्दै लगातार तेस्रो खेल जितेको छ ।
निके प्रतिस्पर्धात्मक खेलमा बुढानिलकण्ठले १४-१४, १२-८, १७-२३, १४-५ को प्रदर्शन गरेको थियो ।
खेलमा बुढानिलकण्ठकी अनुसा मल्लले सर्वाधिक २७ अंक जोडिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।
समूह बी मा बुढानिलकण्ठ ६ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।
यसै समूहको अर्को खेलमा ट्रेनिङ ग्राउण्डले लुम्बिनी प्रदेशलाई ७७-६ को फराकिलो अन्तरले हराउँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।
एकपक्षिय खेलमा ट्रेनिङ ग्राउण्डले ३३-०, १४-४, १७-०, १३-२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
ट्रेनिङ ग्राउण्डकी विनामनी योन्जनले सर्वाधिक १५ अंक जोडिन् भने हिरा बोहरा प्लेअर अफ दि म्याच घोषित भइन् ।
तीन मध्ये दुई जित र एक हारबाट ५ अंक जोड्दै ट्रेनिङ ग्राउण्ड उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
यस्तै समूह ए अन्तर्गत मंगलबार सुनसरी बास्केटबल एसोसिएसन र अन्नपूर्ण बास्केटबल एसोसिएसन विजयी भए ।
