हिमालयन स्पिरिट कपको उपाधि काठमाडौं हक्सलाई
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १० ।
नेपाल फ्लाइङ डिस्क फेडेरेशनद्वारा आयोजित हिमालयन स्पिरिट कपको फाइनल खेलमा काठमाडौं हक्सले फ्रिस्बी फ्यान्टमलाई १०–८ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ।
अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। काठमाडौं हक्सका लागि मिंगमार लामाले शानदार प्रदर्शन गर्दै ७ गोल गरे।
ताशी ल्हामुले २ गोल तथा सिद्धार्थ भट्टराईले १ गोल थप्दै टोलीलाई जित दिलाए। फ्रिस्बी फ्यान्टमका लागि प्रकाश खत्रीले ३ गोल गरे भने सृजन खड्का र श्रेयास खड्काले २/२ गोल गरे। बाबिन तामाङले १ गोल थपेका थिए।
यसअघि आजै सम्पन्न सेमिफाइनल खेलमा काठमाडौं हक्सले चुनिखेल वारियर्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। प्रतियोगिताको समापन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता Nepal Flying Disc Federation का महासचिव सन्तोष खड्काले गरेका थिए ।
कार्यक्रममा अन्य विशिष्ट अतिथिहरू, खेलप्रेमी, खेलाडी तथा समर्थकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताले नेपालमा अल्टिमेट फ्रिस्बी खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
