करातेका सन्तोषलाई अमेरिकामा यलम्बर खेलकुद अवार्ड
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ५।
नेपाली कराते खेलाडी सन्तोष राई अमेरिकामा यलम्बर खेलकुद अवार्डबाट सम्मानित भएका छन् ।
किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) न्युयोर्क च्याप्टरले करातेका खेलाडी सन्तोषलाई यलम्बर खेलकुद अवार्डबाट सम्मान गरेको हो । न्युयोर्कस्थित कोरोना पार्कमा सम्पन्न कार्यक्रममा कराते खेलाडी सन्तोषले अवार्ड प्राप्त गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा न्युयोर्कका लागि नेपालको महावाणिज्यदूत दधिराम भण्डारी र विशेष अतिथिका रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का बासु लामिछाने सहभागी भएका थिए । अवार्डसँगै सन्तोष राईलाई नगद दुई हजार अमेरिकी डलर पनि प्रदान गरिएको आयोजकका संयोजक शम्भु राईले जानकारी दिए । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) न्युयोर्क च्याप्टरले खेलकुद क्षेत्रमा विशिष्ट योगदान पु¥याउनेलाई अवार्ड प्रदान गर्दै आएको छ ।
उक्त कार्यक्रममा नेपाली समुदायका विभिन्न व्यक्तित्व, खेलकुदकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । आयोजकले नेपाली समुदायमा खेलकुदको विकास र खेलाडीहरूको सम्मान गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।
