नेपाली कांग्रेसको विशेष महाधिवेशन र अवको विकल्प : प्रल्हाद खनाल

नेपाली कांग्रेसको विशेष महाधिवेशन र अवको विकल्प : प्रल्हाद खनाल

कपन अनलाइन

काठमाण्डौ ,पुस २७।

आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु भयो। महाधिवेशन होला अथवा नहोला ? रित पुग्ला या नपुग्ला ?, सहभागी आउलान् या नआउलान् ? नेतृत्वले साथ देला या नदेला ? यो विशेष अधिवेशन बैध होला या नहोला ? यी र यावत शङ्का उपशंकाका बीच शुभेच्छुक र प्रतिनिधिहरूको अपार सहभागिता बिच यो विशेष अधिवेशन भृकुटी मण्डपमा को खुल्ला मैदानमा, नेताहरूलाई भुइँमा ओछ्याइएको चकटी र कार्यकर्ताहरूलाई कुर्सीमा राखियो।

आजसम्म कुर्सीमा बस्दै आएका नेताहरू भुइँको चकटीमा र भुईमा बस्दै आएका कार्यकर्ताहरू आरामले कुर्सीमा बसेको, यो नौलो दृश्यले प्रतीकात्मक रूपमा एउटा खास परिवर्तनलाई इङ्गित गर्यो। आजसम्म जे सोचियो फरक सोचौँ। जुन कोणबाट सोचियो फरक कोणबाट सोचौँ। जे गरियो फरक तरिकाले गरौं ।

Comfort zone is the biggest enemy to your career. तपाईँहरू धेरै कम्फर्ट जोनमा बस्नुभयो अब भुइँमा बसेर हेर्नुहोस्। जनताहरू धेरै भुइँमा बसे र अब कुर्सीमा बसेको अनुभव गर्नेछन् ।

आज सुरु भएको यो विशेष अधिवेशनले, भाद्र २३ र २४ पछिको बदलिएको नेपाली राजनीतिक अवस्थामा नेपाली कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्न चुकेको एउटा तथ्य, संसद्को दोस्रो शक्तिशाली दल एवं आफ्नै चिर प्रतिद्वन्दी संगको साठगाठमा सत्तारोहण गर्ने सपनामा रुमलिएका पार्टी सभापति, कार्यकर्ताहरूको गिर्दो मनोबल, युवा पुस्ताको अपेक्षालाई आत्मसाथ गर्न नसक्दा पार्टीले गुमाउँदै गएको आफ्नो धरातल र विश्वास, नयाँ दलहरूको बढ्दो लोकप्रियता र आफ्नो दलको क्षयीकरण हेर्दै बस्न विवस नेपाली कांग्रेसका निरीह कार्यकर्ताहरूको मनोभावना, पीडा र छटपटाहटमा एक्कासी सान्त्वनाको संजीवनी दिएको छ।

अब कुरा गरौं विशेषअधिवेशनको । विशेष अधिवेशन वैध हो वा होइन ? यो प्रश्न अब डेट एक्सपायर भइसकेको छ। कुल प्रतिनिधिहरूको ४० प्रतिशतले माग्न सक्ने विशेष अधिवेशन ५४ प्रतिशतले मागेको थियो, त्यो नै बैध थियो, र ६२ प्रतिशतभन्दा बढीको आजको उपस्थितिले यसको वैधतामा थप लालमोहर लगाइसकेको छ। यो विशेष अधिवेशन पूर्णत: वैध हो। कुनै विवाद रहेन ।

आज यो विशेष अधिवेशन, अधिवेशन मात्रै नभएर नेपाली कांग्रेसको सांगठनिक पुनर्जागरणको सुरुवात पनि हो। यो सुरुवात २०८२ साल पुष २७ गते राष्ट्रिय एकता दिवसको दिन सुरु भएको छ । आज एकता दिवसको दिनमा सुरु भएको पुनर्जागरणको रेलमा को को चढ्न भ्याए या भ्याएनन् ? र भोली दोस्रो दिन को को चढ्छन ? को को चढ्दैनन् ? यो कौतुहलतापूर्ण रहनेछ। चढ्नेले यात्रा गर्नेछन भने नचढ्नेहरू छुट्ने निश्चित छ। समय बडा बलवान छ, यसले कसैलाई पर्खिँदैन।

समकालीन राजनीतिका सबैभन्दा विश्वसनीय पात्र, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसले राज्यलाई पटकपटक अप्ठ्यारोबाट जोगाए आज आफै सबैभन्दा अप्ठ्यारोमा फसेका छन।

स्पष्टता र इमान्दारिताका पर्यायको रुपमा स्थापित रहँदा रहँदै पनि यो विशेष अधिवेशनलाई रोक्ने उनको असफल प्रयासका कारण उनी आफै अस्पष्ट बने। यो विशेष अधिवेशन नै उनका लागि गलपासो बन्यो । कांग्रेसको संगठनलाई पुनर्जीवन दिनका लागि कटिबद्ध महामन्त्री द्वयले महाभारतमा श्रीकृष्णले भनेको जस्तै कुनै “भय” र “लालसा” नराखिकन आफ्नो कर्म गरिसकेका छन्।

आज नेपाली कांग्रेसको नयाँ रुख रोपिसकेका छन। कर्मले भाग्य बनाउँछ र समयले नेता जन्माउँछ । गगनको कर्म र समयले उनलाई नेता बनाइसक्यो। त्यही नेता सधैं स्मरणीय रहन्छ जसले समयलाई चिन्न सक्छ। बीपी कोइरालाले समयलाई चिनेर, आफ्ना सबै स्वार्थ भुलेर, राष्ट्रिय मेलमिलापको नीतिलाई अंगीकार गर्नुभयो। उहाँको त्यही कर्मले आजसम्म स्मरणीय बनाएको छ ।

बीपी कोइरालाको यही कर्मलाई अनुसरण गर्दै अब शेरबहादुर देउवाले पनि भोली मञ्चमा उभिएर, यही अधिवेशनलाई नीति र नेतृत्व छान्न खुल्ला आह्वान गर्नुपर्छ। उनले आवान गरुन् अथवा नगरुन् हुने कुरा निश्चित भइसकेको छ। शेरबहादुरको सत्ता पल्टिसकेको छ। युद्ध हार्दा अपमानित होइ दैन। बरु वीरतापूर्वक लड्दा सम्मान पाइन्छ ।

उहाँले खुल्ला आह्वान गर्नुभयो भने, उहाँको कद घट्ने छैन। अझै सम्मान बढ्नेछ। “एउटा ठूलो युद्ध जित्नलाई, म सानातिना लडाईहरु हार्न तयार छु र परिवर्तन को ज्वाला जोगाउन आफूलाई जलाउन पनि तयार छु।” गगन थापाको आजको यो भनाइ, भलै व्यञ्जनाको रूपमा नेतृत्वलाई चुनौती दिँदै आएको होस् , उहाँले यो बुझ्नुपर्छ कि उहाँले पुनर्जागरणको यो युद्ध जितिसक्नुभएको छ र विजेतालाई दम्भ होइन क्षमाशीलता सुहाउँछ ।

“भीम रावल” बन्ने भयबाट मुक्त रहँदै नेतृत्वको विरुद्ध विद्रोह गरेर क्रियाशील सदस्यहरूलाई गौरवशाली नेपाली कांग्रेसको कार्यकर्ता रहन दिनुभएको योगदान लाई सलाम ! राष्ट्रिय एकता दिवसले नेपाली कांग्रेसलाई एक भएर जाने अवसर देओस्।

तपाइँको प्रतिक्रिया ।