सगरमाथाको देशबाट कलाको यात्रा :थाइल्यान्डमा एनडिए टिमको सफलता,बुढानिलकण्ठ-१० को सहयोग
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १८।
कार्यक्रममा कौरा, झ्याउरे, तामाङ सेलो र राष्ट्रिय गीतसहितका सांस्कृतिक नृत्य प्रस्तुती दिइएको थियो। नेपालको झण्डा फहराउँदै प्रस्तुत गरिएको यस कार्यक्रमले नेपाली संस्कृतिको अद्वितीय झल्को मात्र देखाएन, दुई देशबीचको सांस्कृतिक सम्बन्ध र पर्यटन प्रवर्द्धनमा पनि योगदान गरेको एनडिएका निर्देशक एवम् कोरियोग्राफर छिरिङ लामाले बताए।
युरो एसिया ग्रुपका अध्यक्ष गौरब सैनीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा एनडिए अध्यक्ष देवराज गुरुङ, नृत्य विभाग प्रमुख लक्ष्मी पुरी गुरुङसहित ६ वर्षदेखि १८ वर्ष उमेर समूहका नृत्य कलाकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई ग्रेट नेपाल होलिडेले व्यवस्थापन गरेको हो भने नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला अध्यक्ष प्रदिप रमन सिंह डंगोलले सहजीकरण गरेका थिए।
नेपाली कलाकारहरूमध्ये लक्ष्मी श्रेष्ठ, भुमिका सुनुवार, क्यारल परियार, जेनिशा श्रेष्ठ, ओजस्वी बरुवाल, आरुशी सुनुवार, याना श्रेष्ठ, स्वयस अधिकारी, अदिती वालिङ राई, प्रियान्सा थापा, उप्सना कटुवल र आकृती श्रेष्ठले प्रस्तुती दिएका थिए। कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. १० र टिएसएच म्युजिक एन्ड इन्टरटेनमेण्टले सहयोग गरेका थिए।
यसैबीच टिएसएच अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको पहिलो संस्करण पनि सम्पन्न भएको छ। दुई समूहमा विभाजन गरिएका कलाकारहरूले एकल नृत्य प्रस्तुती पनि गरेका थिए। यस प्रतियोगिताले नयाँ नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको र सिकाइका लागि कोशेढुङ्गा सावित हुने विश्वास नृत्य विभाग प्रमुख लक्ष्मी पुरीले व्यक्त गरे।
