मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
कपन अनलाइन
काठमाडौँ, साउन ५ ।
तारकेश्वर नगरपालिका ६ सनफ्लावर चोकबाट आईतबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा नुवाकोटको तादी गाउँपालिका ६ घर भई काठमाडौँको गुहेश्वरी बस्दै आएका ३७ वर्षीय प्रकाश लामा रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०५५ प ४३ ९६ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३७ प ४८ ९४ राखि लामाले चलाइरहेको अवस्था फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भइ हाल काठमाडौँको गोर्णेश्वर नगरपालिका ९ बस्दै आएका हिमाल तामाङले काठमाडौँको गोकर्णेश्वर नगरपालिका ९ आरुबारीबाटै हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
मोटरसाइकल सहित नियन्त्रणमा आएका लामालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
