काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक सुनुवाई सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,असार २९।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।
सेफ हस्पिटालिटीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडासचिव देवकी ढुंगानाले वडाले आर्थिक वर्ष २०८१÷८२ मा गरेका कामहरुको विवरणबारे प्रकाश पार्नुका साथै सार्वजनिक सुनुवाइको महत्व र आवश्यकताबारे पनि जानकारी गराएकी थिइन् ।
‘सार्वजनिक सुनुवाइले एकातिर वडा कार्यालयले यस आवमा सम्पन्न गरेका र आगामी आवका लागि अघि सार्न लागेका योजना र कार्यक्रमका बारेमा नागरिक स्तरमा जानकारी दिन्छ भने अर्कोतिर कर्मचारी र वडाको सार्वजनिक जवाफदेहिता खोजी गरी नागरिकमैत्री विकास र प्रशासन सुनिश्चत गर्छ,’ उनले भनिन् ।
२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले स्थानीय तहलाई थुप्रै अधिकार प्रदान गरेको छ । नेपालको संविधानको अनुसूची ८ ले स्थानीय तहलाई धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को उपधारा १ सँग सम्बन्धित २२ वटा अधिकार प्रदान गरेको छ ।
काठमाडौं महानगरपालिका–३, सामाखुसीका बासिन्दा धर्म महर्जनले सामाखुसी क्षेत्रको ढलको समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिदिन वडाध्यक्ष प्रेम थापासमक्ष अनुरोध गरे ।
कार्यक्रमका धेरै सहभागीले वडाले गरेका विकास निर्माणका कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् । काठमाडौं महानगरपालिका–३, सिर्जनशील टोलका अर्जुन गौतम, श्रीनगर टोलका थानेश्वर रेग्मीलगायतले वडाका कामले नागरिकलाई साँच्चै नै परिवर्तनको महसुस गराएको बताए ।
त्यस्तै कार्यक्रममा खेल क्षेत्रबाट प्रतिनिधित्व गरेकाहरुले खेल क्षेत्रको विकासका लागि विद्यालय तहदेखि नै जग बसाउनुपर्ने सुझाव दिएका छन्। रानीबारी टोलकी जुडो खेलाडी देवु थापाले खेल क्षेत्रले देशको गौरव बढाउने भएकाले त्यसैअनुसार योजना बनाउन वडा समितिलाई आग्रह गरिन् ।
२५० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा ३४ जनाले सभास्थलमै मज्जासँग आफ्ना कुरा राखे भने ५० भन्दा बढीले लेखेर बुझाए । विकास निर्माणका काममा खबरदारी गर्नुबाहेक उनीहरुको अर्को अभीष्ठ त्यहाँ देखिएन । शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, ढल, खानेपानी र गाउँटोलको सुरक्षाका विषयमा उनीहरुले वडाको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रम सहभागीले राखेका जिज्ञासा र प्रश्नको उत्तरदिदै वडाध्यक्ष प्रेम थापाले २०७९ वैशाखमा वडाको नेतृत्वका लागि घरघर धाउँदै गर्दा नागरिकसँग गरेका प्रतिबद्धता पुरा वडा समिति अहोरात्र खटिएको स्मरण गरेका थिए । ३९ महिनाको अवधिमा आफ्नो टिमले गरेको कामबारे भन्नु भन्दा नगरको भ्रमण अवलोकन गरेर अनुभव लिन र रिजल्ट हेर्न उनले आग्रह गरेका थिए ।
‘व्यक्ति परिवर्तन भएपछि व्यक्तिको सोच परिवर्तन हुन्छ, सोच परिवर्तन भएपछि काम गर्ने शैलीमा परिवर्तन हुन्छ, हामी टिमवर्कमा विश्वास गछौं, वडाध्यक्ष केही होइन, वडाध्यक्ष भनेको भुइँमान्छे हो, जो तपाईंहरुको मन र मतको प्रतिनिधित्व हो, तपाईंहरुले प्रत्यक्ष अनुभूत गर्ने काम हामी गर्छौं,’ उनले भने ।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा वडा कार्यालयले चालुतर्फ विनियोजन गरेको एक करोड ९४ लाख ९६ हजारमध्ये एक करोड ५७ लाख ८७ हजार तथा पुँजीगततर्फ विनियोजन गरेको १६ करोड ३२ लाखमध्ये १० करोड ८ लाख रुपैयाँ खर्च भएको जानकारी दिइएको छ । वडा समितिको निर्णयमा वडाले महानगर स्तरीय र वडा स्तरीय गरी दुई प्रकारका आयोजना सञ्चालन गर्ने गर्छ ।
