आनिगुम्बा-आरम्भचोक खहरे क्षेत्रका अवैध संरचना हटाउन तिन वडाको सुचना,स्थानीय अन्यौल र आतंकित
कपन अनलाइन
काठमाण्डौ ,असार २७।
बुढानीलकण्ठ नगरपालिकाको वडा नं १०, ११ र १२ अन्तर्गत आनिगुम्बादेखि आरम्भचोकसम्म खहरेको दायाँबायाँ अवैध रूपमा निर्माण गरिएका टहरा र संरचनाहरू एक साताभित्र हटाउन नगरपालिका वडा कार्यालयले अन्तिम चेतावनी दिएका छन।
२०७९ सालको बजेटमार्फत शुरु गरिएको वातावरणीय सुधार अभियान अन्तर्गत नगरपालिकाले अव्यवस्थित निर्माण, सार्वजनिक जमीन अतिक्रमण र प्राकृतिक बहाव अवरुद्ध गर्ने संरचनामाथि कडा निगरानी थालेको हो।
उक्त सूचनामा वडा नं. १० का अध्यक्ष नवराज भट्टराई, वडा नं. ११ का अध्यक्ष राजु अधिकारी र वडा नं. १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई को संयुक्त हस्ताक्षर रहेको छ।
नगरपालिकाका वडाहरुका अनुसार खहरे किनारमा अवैध रूपमा बनाइएका संरचनाहरूले नगरको प्राकृतिक बहाव अवरुद्ध गरी बाढी र ढल व्यवस्थापनमा समस्या सिर्जना गरेका छन्। साथै, पर्यावरणीय जोखिम, सौन्दर्य विघटन, तथा सार्वजनिक सम्पत्तिको अतिक्रमणले दीर्घकालीन असर पार्न सक्ने जनाइएको छ।
सो सुचना प्रकासित भए संगै खहरे आसपासमा घर तथा संरचना रहेका स्थानीयहरुमा निकै अन्यौल र आशंका पैदा भएको एक स्थानीयले बताएका छन।
खहरे र खोलाको मापदण्डको कुरा निकै चर्चामा आइरहेको बेला यस क्षेत्रमा निर्माण भएका कतिपय घर र अन्य संरचनाहरुका बारेमा स्पस्ट मापदण्ड र प्रक्रियामा नै अन्यौल रहेको भन्दै उनले यसका बारेमा वडाहरुबाट छलफल हुनुपर्ने बताएका छन।
कतिपय स्थानमा भर्खरै निर्माण भएका संरचनाहरु भत्काउनु पर्ने अवस्था देखिएको छ भने अन्य स्थानमा पनि कति मिटर छोड्ने भन्ने स्पस्ट नभएकोले यस बारेमा सरोकारवाला संग छलफल हुनुपर्ने भन्दै ति स्थानीयले वडाहरुको सुचनाले निकै आतंकित बनाएको प्रतिक्रिया दिएका छन।
संयुक्त सुचना :

