शारीरिक सुगठनका खेलाडीहरुलाई ‘मिस्टर महानगर प्रतियोगिता’मा भाग लिन आव्हान
कपन अनलाइन
काठमाण्डौ, जेष्ठ ४ ।
‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगितामा भाग लिन शारीरिक सुगठनका खेलाडीहरुलाई काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले आव्हान गरेको छ । ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित असार ६ र ७ गते काठमाडौँमा आयोजना हुने ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ का बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष चिनीकाजी महर्जनले खेलाडीहरुलाई प्रतिस्पर्धामा भाग लिन आव्हान गर्नुभएको हो । महानगर स्तरीय यो प्रतियोगिता नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग आयोजना हुन लागेको हो ।
कार्यक्रम आयोजनाका विषयमा वडाध्यक्ष महर्जनले भने , ‘फोहर व्यवस्थापन गर्न, सडक तथा ढलको बनाउन र सफाइ गर्न मात्र सम्झने गरिएको महानगरपालिकाका धेरै दायित्व छन् । यसमा स्वस्थ्य समाज निर्माण गर्ने दायित्व एउटा हो । यसका लागि प्रवर्धनात्मक र निदानात्मक स्वास्थ्य कार्यक्रम सञ्चालन भएका छन् । विभिन्न खेलका माध्यमबाट आरोग्य जीवनका कार्यक्रम प्रवर्धन गरेर सामान्यतयाः अस्पताल जानु नपर्ने अवस्था निर्माण गरेर हामीले दायित्व वहन गरिरहेका छौँ । आरोग्य जीवनको यही सन्देश प्रवाहका लागि च्याम्पियनसिप आयोजना गरिएको हो।
प्रत्येक तौल समूहका विजेताहरुका मिस्टर महानगरको दावेदार हुनेछन् । यी दावेदारहरुका बिचमा ओभरअल प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धाका विजेता मिस्टर महानगर घोषित हुनेछन् । मिस्टर महानगरले तौलसमूहको विजेता भएर ७५ हजार रुपैयाँ र ओभरअल प्रतिस्पर्धाको विजेता भएर पदकसहित ५ लाख रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
फिटनेस संघका अध्यक्ष सुरेश सुवेदी भन्नुहुन्छ, ‘वडाले आयोजना गरेको कार्यक्रम बडी बिल्डरका लागि ठुलो अवसर हो । वडाको यो नेतृत्व सिकाइका रुपमा प्रवर्धन हुन सके वडावडामा यस प्रकारका प्रतियोगिता सञ्चालन हुन सक्नेछन् । यसले खेल र खेलाडीको प्रवर्धन त हुन्छ नै योभन्दा ठुलो स्वस्थ्य समाज निर्माणमा योगदान हुन्छ ।’
