ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा मेयर कप टेबलटेनिस सुरु
कपन अनलाइन
काठमाडौं, पुस १०।
ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पाटनको गःछें टोलमा बुधबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गर्दै ललितपुरमा टेबलटेनिसको राम्रो माहोल रहेको बताए ।
‘ललितपुरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने धेरै राम्रो खेलाडी छन् । ललितपुरमा टेबलटेनिसको माहोल पनि राम्रो छ ।’ मेयर महर्जनले भने– ‘अझ यो प्रतियोगिता रात्रीकालीन भएकाले सबै उमेरसमूहका खेलाडीको रुची यसप्रति बढ्दै गएको मैले पाएको छु ।’
प्रतियोगितामा ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २५ वडाबाट ६ सय ३७ खेलाडीको सहभागिता रहेको ललितपुर महानगरपालिकाका प्रवक्ता समेत रहेका आयोजक वडा ९ का अध्यक्ष राजु महर्जनले जनाएका छन् ।
प्रतियोगितामा १६ स्पर्धा समावेश छन् । सबैमा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी ३ लाख ६८ हजार रुपैयाँ रहेको प्रतियोगिता संयोजक सन्जु अवालेले जानकारी दिए ।
टिम च्याम्पियन बन्न सफल वडालाई रनिङ सिल्ड पनि प्रदान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट करिब २१ लाख ८३ हजार रुपैयाँ रहेको निकेश जोशीले जनाएका छन् ।