चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल : फ्रिडमले कपन भेट्रानलाई ४–१ गोलले हरायो
चावहिल स्पोर्ट्स क्लब ‘ए’ ले चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।
चावहिलले एजे भेट्रानलाई २–१ गोलले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ चावहिलका दीपक लामाले दुवै गोल गरे । एजेका शिशीर हमालले १ गोल फर्काए ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडम फाइटर क्लब ‘ए’, जोरपाटी एफसी, ताकामी भेट्रान र जंगवीर युनाइटेड विजयी भए ।
फ्रिडमले कपन भेट्रानलाई ४–१ गोलले हरायो । फ्रिडमका ‘म्यान अफ द म्याच’ राजकुमार घिसिङले २ तथा कृष्ण मालाकार र विकर्ण श्रेष्ठले समान १–१ गोल गरे । कपनका पासाङ शेर्पाले १ गोल गरे । जोरपाटीले वि आर ब्रडर्सलाई २–० गोलले पाखा लगायो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ रन्जित लामा र रोकश लामाले गोल गरे ।
ताकामीले ग्राम निर्माण मण्डल बन्धु क्लबलाई ४–२ ले पन्छायो । जंगवीरले साजन स्मृति युवा क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो । निर्धारित समयमा दुवैले १–१ गोलको बराबरी खेलेका थिए ।