पून्यमानलाई भेट्रान चेस उपाधि

पून्यमानलाई भेट्रान चेस उपाधि

कपन अनलाइन
काठमाडौं, असोज ११।
पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । ७ चरणको खेलमा उनले ५.५ अंक जोडे । समान अंक भएका बद्रीलाल नेपाली दोस्रो, गणेश मान दुवाल तेस्रो र नविन तण्डुकार टाइब्रेकको अधारमा दोस्रो देखि चौथो भए ।
५ अंक भएका पूर्णराज खड्का पाँचौ, विलम लाल श्रेष्ठ छैटौ, राजेन्द्र बज्राचार्य सातौ, जनार्दन श्रेष्ठ आठौ, भिम दत्ता पाडे नवौ तथा अबिरल राई दशौ भए ।
उपाधि विजेता कमाचार्यले ३० हजार रुपैया तथा उपविजयी नेपालीले २० हजार तथा तेस्रो हुने दुवालले १५ हजार रुपैया पुरस्कार पाए । चौथो हुने खेलाडीले १० हजार तथा पाँचौ हुने खेलाडीले ७ हजार रुपैया पुरस्कार पाए । छैटौ देखि १० औ स्थान हात पार्ने खेलाडीले ५ हजार रुपैया पुरस्कार पाए ।
विजेता खेलाडीहरुलाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गरे । समापन कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका महासचिव अञ्जन धमला विशेष अतिथी थिए । यसैगरी, नेपाल बुद्धीचाल महासंघका अध्यक्ष हेराकाजी मर्हजन, पूर्व अध्यक्ष विदुर गौतम, समाजसेवी सावित्री अधिकारी, दिवंगत श्रेष्ठका आमा लक्ष्मी श्रेष्ट तथा धर्मपत्नी संगीता श्रेष्ठ, बुद्धीचाल महासंघका उप महासचिव मोनालिसा खुम्बू र अखिल नेपाल बुद्धीचाल संघका प्रदेश अध्यक्षहरुको उपस्थिती थियो ।
समापन समारोहको  कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सदस्य तथा नेपाल बुद्धिचाल महासंघका सदस्य बबी देवल पुनले गरेका थिए । प्रतियोगिताको खेल सञ्चालन मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजुको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको हो ।
स्विस लिग प्रणालीमा २ दिन सञ्चालित प्रतियोगितामा ४२ जनाको सहभागिता थियो । दिवंगत श्रेष्ठ एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ  नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता भएको थियो । नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठुलो भूमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडी समेत हुन् ।
नेपाली चेसलाई नयाँ स्वरूप र संरचनामा परिणत गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो । सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्व महिला राष्ट्रिय च्याम्पियन समेत हुन् । नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

तपाइँको प्रतिक्रिया ।