नेकपा एस काठमाडौ सचिव ध्रुवराज न्यौपानेद्वारा पार्टी परित्याग, बुढानिलकण्ठमा तरंग

नेकपा एस काठमाडौ सचिव ध्रुवराज न्यौपानेद्वारा पार्टी परित्याग, बुढानिलकण्ठमा तरंग
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १०।

नेकपा(एकीकृत समाजवादी) का काठमाडौं जिल्ला कमिटी सचिव ध्रुवराज न्यौपानेले पार्टी परित्याग गरेका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी त्याग गरेको घोषणा गरेका हुन्।

न्यौपानेले पार्टी परित्याग गरे संगै नेकपा एस काठमाण्डौमा नेता तथा कार्यकर्ताहरुले पार्टी छाड्ने लहर चल्ने अनुमान गरिएको छ भने विशेषत् बुढानिलकण्ठ नगरपालिकाको राजनीति तरंगित बनेको छ। लामो समय सम्म नेकपा एमालेमा क्रियाशील रहेका न्यौपानेले पार्टी परित्याग संगै एमाले प्रवेसका लागि छलफल र भेटघाटलाई निकै तीव्र बनाएका छन।

साविक कपन गाउँकमिटीमा दुइ कार्यकाल अध्यक्ष रहेका उनले यस विचमा आफु संगै दर्जनौ नेता तथा कार्यकर्ताहरुलाई प्रवेस गराउनका लागि पहल थालेको श्रोतले जानकारी दिएको छ।

न्यौपानेले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यदिशा तथा दशौं महाधिवेशनसम्म आइपुग्दा यो पार्टी झनै दक्षिणपन्थी अवसरवादतर्फ अग्रसर भएको, नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको प्रधान समस्याको निरन्तरता यस पार्टीमा पनि देखिएको, व्यक्तिवादी चरित्र हावी भएको र पार्टी विभाजनको औचित्य पनि पुष्टि गर्न नसकेकाले पार्टी त्याग गर्नुपरेको उल्लेख गरेका छन् ।

उनको विज्ञप्तिमा उल्लेख छ:

‘२०५१ सालदेखि तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवासंघ, नेपालमा संगठित हुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विभिन्न जिम्मेवारीमा रहेर नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पुयाउँदै आएको जानकारी गराउन चाहन्छु ।

२०६२–०६३ को जनआन्दोलन पश्चात् भएको राजनीतिक परिवर्तन पछाडि साविक कपन गाविसमा प्ररायुसंघको नेतृत्व गर्ने अवसर मैले पाएको थिएँ । सो पश्चात् नेकपा एमालेको साविक कपन गाउँ कमिटीको सदस्य, उपसचिव, संयोजक हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेको छु । २०७२ सालमा सम्पन्न अधिवेशनबाट नेकपा एमाले, काठमाडौं क्षेत्र नं ४ को सचिवमा निर्वाचित भएसँगै संगठन विस्तार र निर्माणमा सक्रिय रहेको तथा पार्टी संगठनसँगै मैले नेकपा एमालेको भ्रातृ संगठनको रुपमा रहेको नेपाल खेलकुद महासंघका विभिन्न कमिटीमा रहेर काम गर्दै गर्दा यसै कालखण्डमा पार्टीले मलाई जिल्ला खेलकुद विकास समिति, काठमाडौंमा अध्यक्षको रुपमा पठाएको जानकारी गराउन चाहन्छु । त्यसपछि, तत्कालीन नेकपा एमाले र माओवादीबीच भएको पार्टी एकतापछि बनेको नेकपाको जिल्ला कमिटीको सदस्यको रूपमा समेत मैले सक्रिय भूमिका निर्वाह गरेको थिएँ ।

त्यस्तै, पार्टी विभाजनपश्चात् गठन भएको नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेर काम गर्दै आइरहेको थिएँ । यसबीचमा मैले उक्त पार्टीमा काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय संयोजक हुँदै जिल्ला कमिटीको उपसचिव र हाल जिल्ला सचिवको जिम्मेवारीमा रहेको विदितै छ ।

 

तपाइँको प्रतिक्रिया ।