तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिट : शिवराज र निशा उत्कृष्ट खेलाडी

तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिट : शिवराज र निशा उत्कृष्ट खेलाडी

कपन अनलाइन

काठमाण्डौ ,असार ५ ।

एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटमा मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । शिव पुरुष तथा निशा महिलामा उत्कृष्ट खेलाडी बनेका हुन् ।
शिवले १ सय र २ सय मिटर दौडमा स्वर्ण तथा ४ गुणा १ सय मिटर रिलेमा रजत जितेका थिए । निशाले १ सय र २ सय मिटर दौड तथा लङजम्पमा स्वर्ण जितिन् ।
एथलेटिक्स परिवार नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको २ सय मिटर दौडमा शिवले निर्धारित दूरी २२.३६ सेकेन्डमा पूरा गरे । वीरगन्जका आदेशकुमार यादवले रजत तथा एपीएफका आशिष चौधरीले कांस्य हात पारे । सो स्पर्धाको महिलामा निशाले निर्धारित दूरी तय गर्न २६.३० सेकेन्ड समय खर्चिन् । आर्मीका कलेशी चौधरी र सरस्वती थारु क्रमशः दोश्रो र तेश्रो स्थानमा रहे ।
पुरुष ८ समय मिटर दौडमा आर्मीका सुनिल सुनार पहिलो भए । उनले १ मिनेट ५७.८६ सेकेन्ड समय   लगाए । आर्मीकै अक्कलबहादुर पाल दोश्रो तथा एपीएफका सन्जिव नेपाली तेश्रो बने । उक्त स्पर्धाको महिलामा एपीएफकी आशा रावत पहिलो भइन् । आशाले २ मिनेट २६.७ सेकेन्डमा दूरी पार गरिन् । आर्मीका रेखा लिम्बू दोश्रो तथा नवीना थापा तेश्रो भए ।
दुईदिने प्रतियोगितामा ५ सय ७५ खेलाडीले ५२ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । अध्यक्ष खत्रीका अनुसार नेपाली एथलेटिक्समा सबै भन्दा बढी स्पर्धा समावेश गरिएको यो पहिलो प्रतियोगिता हो ।

तपाइँको प्रतिक्रिया ।