नेसनल युनाइटेडमा शैक्षिक प्रदर्शनी तथा अभिभावक दिवस समारोह सम्पन्न
कपन अनलाइन
काठमाण्डौ,फागुन ७।
बृ्ढानिलकण्ठ नगरपालिका वडा नं ८, गणेशचोकमा रहेको नेसनल युनाइटेड स्कुलमा शैक्षिक प्रदर्शनी तथा अभिभावक दिवस समारोह विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ कलाकर्मी, नेपाल टेलिभिजनको संस्थापकअध्यक्ष तथा पुर्व महाप्रबन्धक नीर शाह र कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक रेवती प्रसाद दाहालले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए।
स्थानीय समाजसेवी तथा अभिभावक सहित ७०० जनाभन्दा बढीको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरूले तयार पारेका शैक्षिक तथा विज्ञानका सामाग्रीहरूको प्रदर्शनी गरिएको थियो भने सांस्कृतिक कार्यक्रम तर्फ नृत्य, गायन, नाटक, कविता,योगा, करातेका विविध प्रदर्शनी साथै वक्तृत्वको माध्यमबाट विद्यार्थीहरूले आफ्नो कलालाई उत्कृष्ट ढङ्गबाट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा २०७९सालकोएसईईपरीक्षामाविद्यालयबाटसहभागीविद्यार्थीहरु मध्ये उच्चतम जीपीए हासिल गर्ने ३ जना विद्यार्थीहरुलाइ पुरस्कृत गर्नुका साथै सोहि परीक्षामा कम्पुटर विज्ञान विषयमा सहभागी सम्पूर्ण विद्यार्थीहरुको ग्रेड अंक ४.०० हासिल गराउन सफल शिक्षक अमृत भण्डारी तथा विद्यालयबाट २०७७ सालको एसईई परीक्षामा सहभागी भइ हालै कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम २०८०मासहभागि विद्यार्थीहरु मध्ये सर्वोत्कृष्ट खेलाडी घोषित ब्वाइजतर्फ कक्षा नौमा अध्ययनरत छात्र गौरव खत्री तथा गर्ल्सतर्फ कक्षा ६ मा अध्ययनरत छात्रा सोनु घले साथै प्राप्त नतिजाका आधारमा टिम प्रथम हुनसफल ग्रिन हाउस, टिम द्वितीय हुन सफल यल्लो हाउस तथा तृतीय टिम रेड हाउसलाई ट्रफीद्वारा पुरस्कृत गरिएको थियो ।
उक्त कार्यक्रममा विद्यालयबाट २०७४ सालको एसईई परीक्षामा उत्तीर्ण छात्र एबम युवा पुस्तामाझ चर्चित गायक समिर श्रेष्ठ तथा सोहि ब्याचका अन्य विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शाहले विद्यार्थीहरुले गुरुको कुरा प्रतिनिष्ठावान भइ कर्तव्यनिष्ठ भएर निश्चित उद्देश्यकासाथ अघि बढेमा सफल हुनसकिने कुरा बताएका थिए। त्यसैगरि संस्थापक हमालले अभिभावकहरु समक्ष वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुकासाथै विद्यालयमा भइरहेका विविध गतिविधीहरु एवम आगामी योजनाहरुमाथी प्रकाश पार्दै शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुको लागि भौतिक पुर्वाधार थप गर्दै जानेक्रममा विद्यालयसंगै फुट्सल मैदान निर्माणाधीन रहेको र आगामी शैक्षिक सत्र २०८१ को सुरुवात संगै संचालनमा आउने जानकारी दिएका थिए ।
कार्यक्रममा अभिभावक तथा अन्य अतिथी वक्ताहरुले शैक्षिक तथा अतिरिक्त क्रियाकलापको माध्यमबाट अनुशासित एवम् दक्ष जनशक्ति निर्माण गरी सुन्दर समाज निर्माणमा नेसनल युनाइटेड स्कुलले पुर्याएको योगदानको प्रशंसा गर्दै निरन्तरताको शुभकामना व्यक्त गरेका थिए।