ललितपुर उपमहानगरपालिकाभित्र आफैँ उम्रिएका गाँजा तथा भाङका बिरुवा नष्ट

ललितपुर, १६ साउन । ललितपुर उपमहानगरपालिका सुन्दरीघाट नजिकै चिनियाँ निर्माण कम्पनी साङ्घाइ कन्स्ट्रक्सनको परिसर नजिकै बाग्मती नदी किनारमा आफैँ उम्रिएका गाँजाका बिरुवा संविधानसभाका सभासद्, प्रहरी, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि तथा बासिन्दाले आज बिहान संयुक्तरूपमा नष्ट गरेका छन् ।

Rss_Images_1438405098779_SBN_Laltittpur Ganga1

महानगरीय प्रहरी प्रभाग बल्खुको सक्रियतामा आयोजित उक्त कार्यक्रममा स्थानीय सभासद् मदनबहादुर अमात्यले स्थानीयस्तरको निर्वाचन नभएकाले संविधानसभाका सदस्यले स्थानीय समाजकल्याण तथा विकास निर्माणका कार्यदेखि व्यक्तिगत समस्या समेत मिलाउनु पर्ने अवस्था रहेको बताउनुभयो ।

अर्का सभासद् लीला रानामगरले प्राकृतिक रुपमा उम्रिएका गाँजा प्रयोग गर्ने अवस्था रोकी युवालाई गलत मार्गमा लाग्न नदिन यस्ता बिरुवा नियमितरुपमा नष्ट गर्दै जानु आवश्यक छ भन्नुभयो ।

प्रहरी प्रभाग बल्खुका प्रमुख, प्रहरी नायब निरीक्षक कृष्णप्रसाद सिटौलाले बाग्मती किनारमा गाँजाका बिरुवा आफैँ उम्रिएका र युवाले प्रयोग गर्ने गरेको स्थानीय बासिन्दाबाट गुनासो आएकाले यस्ता बिरुवा स्थानीय सभासद् तथा बासिन्दाकै सहयोगमा नष्ट गरिएको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।